८ बैशाख २०८१, शनिबार

५ लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, जेठ १४ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण प्रभावित क्षेत्र र संक्रमितको सम्पर्कमा रहेका करिब ५ लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारत लगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आंकलन सहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार ५ लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ । विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा ६ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्था समेत आंकलन गरी स्वास्थ्य मन्त्रालयले तयारी गरिएको छ ।

मन्त्रालयका अनुसार विदेशबाट आएकालाई परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, निश्चित अवधिपछि फेरि परीक्षण गरेर पूर्णतः स्वस्थ भएपछि परिवारमा पठाउने नीति सरकारले लिएको छ । देशभर परीक्षण बढाइएकै कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ५२ हजारलाई परीक्षणको दायरामा ल्याइसकिएको छ । नमुना सङ्कलन बढी भएको दिनमा ३ हजार ८ सयभन्दा बढीको पीसीआर परीक्षणसमेत गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको सम्बोधन मार्फत जनसङ्ख्याको २ प्रतिशतलाई परीक्षणको दायरामा ल्याउने बताएक थिए । सोहीअनुसार मन्त्रालयले कामलाई तीव्रता दिइएको हो । छिमेकी मित्र राष्ट्रबाट ठूलो सङ्ख्यामा लुकिछिपी प्रवेश गरेकाबाटै नेपालमा कोरोना जोखिम बढाएको छ । यो समाचार गोरखापत्रमा दिपक श्रेष्ठले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !