८ बैशाख २०८१, शनिबार

कोभिड–१९: जुम्लामा उच्च सतर्कता


खलङ्गा, ९ जेठ । कोभिड–१९ को जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता बढाइएको छ ।

प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिका–१ साततलाका एक पुरुष युवामा गत सोमबार कोरोना भाइरस पुष्टि भएपछि जिल्लामा सतर्कता बढाइएको हो ।

जिल्लाका आठ स्थानीय तहले उच्च सतर्कता अपनाएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहले जिल्लास्तरीय क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालयमा राम्रो व्यवस्थापनका साथ निर्माण गरिएको छ ।” स्थानीयवासी जिल्ला बाहिराबाट आउने र कोरोनाको लक्षण देखापर्नासाथ जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

क्वारेन्टिन सबै पालिकाको एउटै स्थानमा भएकाले क्वारेन्टिनमा बसेकाको कोरोना जाँच गर्न सहज भएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक रहेको शिक्षालयको क्वारेन्टिनमा गएर प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँचसमेत हुने सबैलाई उच्च मनोबल राख्न प्रतिष्ठानका चिकित्सकबाट हौसला प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको विभिन्न स्थानीय तहका नाकामा कडाइ गरिएको र यही जेठ ३ गते रुपैडिया नाकाबाट आएका २९ जनालाई सो शिक्षालयको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा नेपाली सेनाको संरक्षणमा राखिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिनुभयो ।

चार हजारलाई राहत वितरण
यहाँको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाले सङ्घीय सरकारको निर्देशनबमोजिम बन्दाबन्दीले घरखर्च चलाउन समस्यामा परेका असहाय, गरिब, विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिएको छ ।

स्थानीय पालिकाले वडा कार्यालयबाट सिफारिस गरेको चार हजार घरधुरीलाई करिब रु ३५ लाखबराबरको खाद्यान्न सामग्री वितरण गरेको चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवी महतले जानकारी दिनुभयो ।

नगरपालिकाले अहिलेसम्मको दुई हजार २३९ घरधुरीलाई रु २५ लाखबराबरको खाद्यान्न र गुठीचौर गाउँपालिकाले दुई हजार १० घरधुरीलाई रु १० लाखको खाद्यान्न सामग्री विवरण पहिलो चरणमा गरेको गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताउनुभयो ।

सो नगरपालिका र गाउँपालिकाले चामल, दाल, नुन, खाने तेल र साबुन वितरण गरिएको छ । सिञ्जा गाउँपालिकालाई दुई हजार ६०० घरधुरी वडा कार्यालयबाट सिफारिस गरेर आएका छन् तीमध्य गाउँपालिकाले कस्तो घरधुरी अति गरिब हो भनेर गाउँकार्यपालिकाले छानविन गरेर मात्र एक हप्ताभित्र राहत वितरण गरिने र पालिकाले ८०० क्विन्टल चामल खरिद गरी पालिकामै खाद्यान्न बैंक स्थापना गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

तिला गाउँपालिका, कनकासुन्दरी र पातारासीले पहिलो चरणमा तीन महिनासम्म खान नपुग्ने र काम गरेर घरखर्च चलाउने स्थानीयवासीलाई राहत वितरण गरिसकेको जनाइएको छ ।

गाउँपालिकाभित्रका स्थानीयवासीको घरको अवस्था हेरेर दोस्रो चरणमा राहत वितरण गर्ने विषयमा गाउँकार्यपालिकाको बैठकमा छलफल भइरहेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले जानकारी दिनुभयो ।

जिल्लाको तातोपानी गाउँपालिकाले राहत वितरण गरेको छैन भने हिमा गाउँपालिका सबैभन्दा अगाडि प्रत्येक घरधुरीलाई ३० केजीको दरले रु ४४ लाखको खाद्य संस्थानको चामल वितरण गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !