७ बैशाख २०८१, शुक्रबार

म्याग्दीमा लकडाउन पालना गराउन स्वयंसेवी खटाइयो


Myagdi

गलेश्वर १८ चैत । कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि म्याग्दीमा स्वयंसेवी खटाइएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवी खटाइएको हो । सात जनाको समूहमा रहेको स्वयंसेवीको टोली वडाका प्रत्येक घरमा पुगेर सूचना प्रवाह गर्नुका साथै कोरोना भाइरस सम्बन्धि जिज्ञासा राख्नेलाई बुझाउने गरेका महिला स्वयंसेविका पुष्पा गर्वुजाले बताउनुभयो ।

पहिलो चरणमा रघुगंगा गाउँपालिका वडा नं १ बाट शुरु गरिएको यो अभियान गाउँपालिकाका ८ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । “आठ वटै वडामा जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटाएर क्वारेन्टाइनदेखि बस्ती बस्तीमा जनतालाई सरकारको निर्णयसंगै कोरोना भाइरसको जोखिम न्यूनीकरणको अभियानलाई सक्रिय बनाउँछौं”, उहाँले भन्नुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “स्वयंसेवकलाई गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्छ, समुदायमा उहाँहरुले दिएको योगदानको उचित मूल्याङ्कन हुन्छ ।”

अनावश्यक काममा घर बाहिर जाने, भिडभाड र खेलकूदजन्य गतिविधिमा सहभागी हुने, विदेशबाट आएकाहरुले होम क्वारेन्टाइनमा वस्न आनाकानी गर्ने गरेकाले जनप्रतिनिधिसंगै स्वयंसेवकहरु परिचालन गरिएको उहाँको भनाइ छ । स्वयंसेवकलाई दैनिक रु ८ सय भत्ता र खानाको व्यवस्था गाउँपालिकाले गरेको छ । उत्कृष्ट काम गर्नेलाई सम्मानसमेत गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिका भित्र हरेक वडामा निर्मित क्वारेन्टाइनमा अहिलेसम्म ११ जना आएका छन् । चैत १ गते यता आएका र क्वारेन्टाइनमा आउन आनकानी गरेकालाई जनप्रतिनिधिले सवारीसाधन लिएर उनीहरुका घरमा नै जाने योजना रहेको समेत अध्यक्ष भण्डारीले बताउनुभयो ।

लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीले लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ६ काटुर्न मादकपदार्थ (मदिरा) बोकेर बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६१ नम्बरको जीपसहित त्यसका चालक बेनी नगपालिका—८ का सुनिलकुमार शाह र सहचालक जलजला गाउँपालिका— ३ का असल परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि अत्यावश्यक वस्तु र सेवामात्र सञ्चालनको आदेश जारी गरेको अवस्थामा अत्यावश्यक वस्तुको नाममा मदिराको ओसार पसार गरेको पाइएकाले दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

बरामद भएको मादक पदार्थ तथा नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाइएको छ । यस्ता क्रियाकलाप निषेधाज्ञाविरुद्धका कार्यहरु भएकाले पक्राउ परेकालाई सङ्क्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने व्यवस्था छ ।

पाँच महिला सहित ३३ जना क्वारेन्टाइनमा
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट बच्नका लागि म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहमा बनाइएका १ सय ८ वेडको क्वारेन्टाइनमा ३३ जना बसेका छन् ।

बनी नगरपालिका, मङ्गला र रघुगंगा गाउँपालिकाका गरी अहिलेसम्म विदेशबाट आएका ५ महिला र २८ पुरुष क्वारेन्टाइनमा बसेको रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिनुभयो । “विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय स्थानीय तहको छ”, उहाँले भन्नुभयो, “विदेशबाट आएकाहरु धमाधम सम्पर्कमा आउनुभएको छ, चैत १ गते यता विदेशबाट आउनुभएकाहरु अनिवार्य क्वारेन्टाइनमा आउनुपर्छ ।” क्वारेन्टाइनको एउटा कोठमा एक जनालाई मात्र राख्ने प्रयास गरिएकोमा त्यो सम्भव नभएपछि दुई जनालाई राखिने बताइएको छ ।

स्थानीयतहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गर्दै क्वारेन्टाइनमा निःशुल्क खानेबस्ने सहित इन्टरनेटको समेत सुविधा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !