६ बैशाख २०८१, बिहिबार

सरकारले काठमाडौंमा ५००० क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल बनाउने


क्वारेन्टाइन

चैत १६, काठमाडौँ । नेपाल सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५००० व्यक्ति राख्न सकिने क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल निर्माण गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले उक्त निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

बैठकले उपत्यकामा कम्तीमा ५००० व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकाय संयुक्त रूपमा परिचालित हुने र सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापनको तयारीबारे विवरण पेस गर्न पनि मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !