१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या पुग्यो ५ जना


कोरोना भाइरस

१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या ५ जना पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया १ जना युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनको स्थिति अहिले सामान्य नै रहेको पनि डा. देवकोटाले बताएका छन् ।

उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । सो संक्रमणको पुष्टि भएपछि उक्त विमानमा सवार १५८ यात्रुहरुको खोजी थालिएको थियो ।

बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको भएपनि आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

५ जनामध्ये १ जना निको भएर घर गइसकेका छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएको यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !