६ बैशाख २०८१, बिहिबार

वैदेशिक रोजगारीबाट फर्किएकालाई निगरानीमा


परासी, १४ चैत । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको लगत सङ्कलन शुरु गरेको छ ।

नगरपालिकाले सवै वडामा परिपत्र गर्दै आफ्नो वडाभित्र विदेशबाट आउने व्यक्तिहरुको विवरण सङ्कलन गरी पठाउन निर्देशन दिएको छ । विदेशबाट आएका व्यक्तिबाटै कोरोना भाइरसको सङ्क्रमण हुने चुनौती देखिएपछि उनीहरुको विवरण सङ्कलन गर्न थालेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

“हामीले सवै वडा कार्यालयहरुलाई निर्देशन जारी गरेका छौँ, नगर प्रहरी र स्वास्थ्यकर्मीलाई पनि गाउँगाउँमा खटाएका छौँ, उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र घरमै सुरक्षित तरिकाले रहन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो । उनीहरुलाई छरछिमेकमा पनि नजान आग्रह गरिएको छ ।

वडा कार्यालयलाई पठाइएको परिपत्रमा विदेश तथा नगरपालिका भन्दा बाहिरबाट आएका व्यक्तिलाई घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, यदि शङ्का लागेमा नगरपालिकाले तोकेको क्वारेन्टाइन वा आइसोलेशनमा राख्ने व्यवस्था मिलाउने र उनीहरुको तथ्याङ्क नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउन भनिएको नगर प्रमुख बस्यालले बताउनुभयो ।

बर्दघाट नगरपालिकाले चिसापानीस्थित दिव्यज्योति बहुमुखी क्याम्पस र मोतिवस्तीस्थित बाल्मिकि माविमा क्वारेन्टाइन निर्माण गरेको छ भने शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पाँच श्ययाको आइसोलेशन कक्ष निर्माण गरेको छ । यसैगरी बर्दघाटको त्रिवेणी चोकमा हेल्थ डेस्क सञ्चालन गरिरहेको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पनि विदेशबाट फर्केकाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । कोरोना भाइरसको सङ्क्रमित देशबाट फर्केकाहरुको विवरण सङ्कलन गरी आवश्यक परामर्श र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । उहाँका अनुसार कतार र मलेसियाबाट आएका दुई जना तथा भारतबाट आएका तीन जनालाई गाउँपालिकाले लोहरौलीस्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले पनि विदेशबाट फर्केकाको खोजी गर्दै उनीहरुलाई निगरानीमा राखेको जनाएको छ । बिहीबार मात्रै भारतबाहेक अन्य तेस्रो मुलुकबाट रोजगारी गरी फर्किएका १९ जनालाई खोजी गरी निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बर्दघाटको त्रिवेणी चोकमा हेल्थ डेस्क
प्रदेश नं. ५ को पूर्वी प्रवेशद्वारमा ‘हेल्थ डेस्क’ स्थापना गरी स्वास्थ्य जाँच शुरु गरिएको छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो नगर र प्रदेशको पूर्वी नाकालाई लक्षित गर्दै त्रिवेणी चोकमा बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

पूर्वी नाकाबाट नगरपालिका छिर्नेलाई स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाइएको नगर प्रमुख धीरज शर्मा बस्यालले राससलाई बताउनुभयो । “हामीले दाउन्नेमा राख्ने सोच बनाएपनि यहाँ बजारमै राखेका छौँ, सरकारले लकडाउन गरेको अवस्थामा पनि यो पूर्वपश्चिम राजमार्गमा अत्यावश्यक सेवाका सवारी र व्यक्तिको आवागमन हुने भएकाले उनीहरुबाट कोरोना भाइरस सङ्क्रमणको जोखिम नहोस् भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो ।

हेल्थ डेस्कमा तापक्रम मापन यन्त्र तथा अन्य उपकरणसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतीय सीमा नाकाबाट आउने व्यक्तिको स्वास्थ्य जाँचका लागि सीमानाकामै विभिन्न स्थानीय तहले हेल्थ डेस्क सञ्चालन गरिरहेकाले नगरपालिकाले बजारमै हेल्थ डेस्क सञ्चालन गरेको जनाइएको छ ।

पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिकाले महेशपुर, सरावल गाउँपालिकाले भुजहवा, प्रतापपुर गाउँपालिकाले झुलनीपुर र सुस्ता गाउँपालिकाले नथैनगर नाकामा हेल्थ डेस्क सञ्चालन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !