४ बैशाख २०८१, मंगलबार

सङ्कटमा सेवा दिँदै औषधि व्यवसायी


medicin

बनियानी, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको आज तेस्रो दिनसम्म झापाका औषधि व्यवसायीले सेवा दिइरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि अत्यावश्यक सेवाअन्तर्गत औषधि व्यवसाय भएकाले आफूहरुले जोखिम लिएर भए पनि सेवा दिइरहेको उनीहरुको भनाइ छ ।

प्राञ्जल फार्मेसी बिर्तामोडका सञ्चालक विनय डाँगीले सरकारले लकडाउन घोषणा गरेयता दिउँसो ३ देखि बेलुका ६ बजेसम्म पसल खुला राखिएको बताउनुभयो । उहाँले नागरिकको अत्यावश्यक वस्तुका रुपमा औषधि रहेकाले आफूहरुले समय तालिका बनाएर भए पनि पसल खुला राखेको बताउनुभयो । “लक डाउनका कारण चिकित्सकीय सेवा बन्द छ तर औषधि पसल भने खोलिएको छ”, उहाँले भन्नुभयो, “डाक्टरको सेवा नभए पनि मास्क र आवश्यक औषधिका लागि पनि पसल नियमित खोलिरहेका छौँ ।” आफूहरुको सुरक्षा नभए पनि व्यावसायिक धर्म पूरा गर्न पनि पसल खोल्ने गरेको उहाँले बताउनुभयो ।

प्रदीप फार्मेसी बिर्तामोडका सञ्चालक प्रदीप खरेलले समस्या भए पनि पसल सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साह्रै गाह्रो परेका मानिस आउने हुन् । समय मिलाएर भए पनि खोल्नै प¥यो नि ।” लक डाउनका कारण घरबाट पसल पुग्नसमेत समस्या हुने गरेको सुनाउँदै उहाँले भन्नुभयो, “पसल आउँदा प्रहरीले रोक्यो, औषधि व्यवसायी भनेपछि छोडिदिनुभयो ।” औषधि व्यवसायीको सुरक्षाका लागि सरकारीस्तरबाट आवश्यक पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

ओम झापा मेडिकलका सञ्चालक सुरेश खतिवडाले निश्चित समय तोकेर पसल खोल्न थालिएको बताउनुभयो । बिहान र बेलुकाको समय मिलाएर पसल खोल्ने गरिएको उहाँ बताउनुहुन्छ । “धेरै इमर्जेन्सी पर्नेहरुले फोन गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुलाई पनि औषधि दिनै प¥यो, नियमित औषधि खानेहरु पनि छन् ।” यस्तो जोखिमका बेलामा आफूहरुको सुरक्षाको व्यवस्था नभएको उहाँ बताउनुहुन्छ । “मास्क र पञ्जा लगाएर बसेका छौँ”, उहाँले भन्नुभयो, “कोही औषधि लिन आउँदा दूरी कायम गर्छाैं, साबुन पानीले हात धोएपछि मात्रै आउन दिने गरिएको छ ।”

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी बिर्तामोडकी सञ्चालक नर्वदा भट्टराई सरकारले सुरक्षा दियो भने मात्रै औषधि पसल खोल्न सकिने अवस्था रहेको सुनाउनुहुन्छ । “औषधि लिन एकदमै आवश्यक पर्ने मानिस मात्र आइरहेका छन्”, उहाँले भन्नुभयो, “नियमित औषधि सेवन गर्ने र थेरापी गराउनेलाई सेवा नदिई हुँदैन ।” लक डाउन रहेसम्म फिजियो थेरापी सम्भव नभए पनि फार्मेसी सेवा दैनिक पाँच घन्टासम्म उपलब्ध हुने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !