११ बैशाख २०८१, मंगलबार

ऋषिङको मध्यविन्दुमा ३० शय्याको क्वारेन्टाइन


क्वारेन्टाइन

तनहुँ, १३ चैत । तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिका–८ गोठार्दीस्थित शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । सबैलाई सहज हुने गरी गाउँपालिकाको मध्यविन्दु क्षेत्रमा पर्ने उक्त क्षेत्रमा करेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

विदेशबाट आएकाहरु स्वास्थ्य परीक्षण गराएर मात्र गाउँ प्रवेश गर्नका लागि गाउँपालिकाले सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य एकाइमा स्वास्थ्य जाँचका लागि व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका कुनै पनि नागरिकलाई कोभिड– १९ सङ्क्रमण भएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ ।

स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीलाई गाउँगाउँ खटाएर सचेतना जगाउने कार्य पनि भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले २०÷२५ मिटरको दूरीमा स्यानिटाइजर र साबुनपानीको व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा पाँच सय जनालाई मास्क पनि वितरण गरिएको छ ।’ मास्क अपुग हुने देखिएकाले थप तीन हजार मास्क काठमण्डौँबाट मगाइएको उहाँले बताउनुभयो । लकडाउनको तेस्रो दिनसम्म गाउँपालिकामा एक जना पनि कोरोना सङ्क्रमित नदेखिएको र विदेशबाट आउने व्यक्तिको निगरानी राख्न प्रत्येक वडाध्यक्षलाई सतर्क रहन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !