१३ बैशाख २०८१, बिहिबार

काठमाडौँको कोटेश्वरमा किराना पसलबाट १७ जनामा फैलियो कोरोना संक्रमण


काठमाडौँको कोटेश्वर

काठमाडौँ, साउन २६ । देशको राजधानी शहर काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा सुरूमा किराना पसल सञ्चालकमा कोरोना भाइरस (कोभिड-१९) देखिएपछि उक्त पसलमा सामान किन्न आउनेहरूलाई परीक्षण गर्दा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण देखिएका अधिकांश मानिस कोठा भाडामा लिई बस्नेहरू हुन् भने उनीहरूमध्ये कतिपय मजदुरी गर्छन् । गत साउन १८ गते किराना पसल सञ्चालक ४ जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।

वडा कार्यालय स्रोतले दिएको जानकारी अनुसार आइतबार १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । ३ जनालाई भने उनीहरूकै घरमा राखिएको हो ।

वडाको पहलमा १४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म १३ जनामा कोरोना पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी नै छ । संक्रमित बढ्ने सम्भावना भएकोले थप कोरोना नफैलियोस् भनेर एउटा गल्ली पूर्ण रूपमा सिल गरिएको छ ।

कोरोना संक्रमितको संख्या उपत्यकामा दैनिक बृद्धि भएसंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । काठमाडौ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । साथै काठमाडौँ उपत्यकामा उपचार गर्ने स्वास्थ्यकर्मीहरु र सुरक्षा गर्ने प्रहरीहरु नै कोरोना संक्रमित भई सकेका छन् । स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुकुलो भएसँगै अन्य जिल्लाबाट काठमाडौं भित्रिनेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । जसले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढ्दै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित थपिनु र सामाजिक दूरीलाई वेवास्ता गरिंदा काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’ बन्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरु नै बताउँछन् । काठमाडौँ उपत्यकामा यसरी कोरोना संक्रमण फैलिदै जाने हो भने यदि कोरोना संक्रमण समुदायमै फैलिएमा स्थित दयनीय हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !