७ बैशाख २०८१, शुक्रबार

सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

पर्सा, साउन १७ । पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्यसहित थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पर्सा-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताएका छन् ।

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । सांसद यादवका सुरक्षागार्ड र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १ जना चिकित्सक पनि छन् ।

साँसद यादवले आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि घरमा नै आईसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै १ जना डाक्टर र १ जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालले बताएको छ ।

३ जना महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका-६ का २२ जना र वडा नं. ८ का ११ जना रहेको बताइएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भई सकेको छ भने पर्सा जिल्लामा संक्रमितको सख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ संक्रमितको मृत्यु भईसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

पछिल्ला दिनमा परिक्षणको दायरा बढाउदै लगिएकाले संक्रमित बढ्दै गएका हुन् । अझै एक परिवार एक पिसिआर परिक्षण (मास टेस्टिङ्ग) योजना अनुरुप संक्रलन गरिएका, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाहरुबाट संकलन गरिएको करिब १४०० स्बावको नमूना परिक्षण गर्न बाँकी नै रहेको नारायणी अस्पतालले जानकारी दिए ।

दैनिक मास ट्रेसिङ्गका लागि महानगर क्षेत्रभित्र ३ देखि ४ स्थानमा स्बाव संकलन केन्द्र खडा गरी स्बाव संकलन गर्ने कार्य भईरहेको छ । संक्रमण फैलिन नदिन विगत ४ दिनदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !