७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरु बढे


कोरोना संक्रमण

काठमाडौँ, २२ असार । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने आज ५४ जनामा देखिएको छ ।

आज देखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताउनुभयो ।

उहाँका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै सङ्क्रमणको जोखिम बढेको बताउनुभयो । उहाँले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताउनुभयो ।

उहाँका अनुसार ती सङ्क्रमित व्यक्तिहरुमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । “भेटिएका सङ्क्रमित कपन, चागुनारायण, हरिसिद्धीलगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन”, उहाँले भन्नुभयो, “उनीहरुको कसै न कसैसँग कन्ट्याक्ट भएको हुनसक्दछ, कहाँबाट आएका हुन भन्ने हामीले पत्ता लगाइरहेका छौँ ।”

महाशाखाले ती सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडेलगायत क्षेत्रका मानिसको नमूना सङ्कलन गरिएको छ । सङ्क्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा समेत अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताउनुभयो ।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !