१३ बैशाख २०८१, बिहिबार

ढलबाट कोरोनाको संक्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, २१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड-१९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोभिड-१९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताउनुभयो ।

“हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड-१९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड-१९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड-१९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यता रोग सार्ने खालको हुँदैन ।”

ढलको पानीमा कोभिड-१९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त्रमात्रामा हुने हुनाले ढलको फहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड-१९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताउनुभयो ।

“ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ”, उहाँले भन्नुभयो, “ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ ।”

उहाँका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड-१९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ ।

ढलको पानीमा आधारित इमिडोयोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उहाँको भनाइ थियो ।

प्रवक्ता डा. गौतमका अनुसार कोभिड-१९ को सङ्क्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ । तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट सङ्क्रमति व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ ।

त्यस्तै सङ्क्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !