७ बैशाख २०८१, शुक्रबार

नेपालमा जडिबुटीको वर्तमान अवस्था


आज मैले नेपालमा जडिबुटीको वर्तमान अवस्था विषयमा नागरिकलाई जानकारी पस्कने काममा जुट्नेछु । नेपालमा थुप्रै प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले ७००० प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।

औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको जानकारी प्राप्त भएको छ ।

पश्चिमाञ्चलमा पनि धेरै मात्रामा जडीबुटीको सम्भावना छ तर प्रचार-प्रसार र बजारको अभावले गर्दा उत्पादन कमी देखिएको छ । तराईमा उत्पादन हुने जडीबुटीमा असुरो, अमला, हर्रो, बर्रो, विष खपरा, कुरिलो, चिराइतो, भइ अमला, धतुरो, बर, पिपल, तुलसी, अजम्मरी (पत्थर चट्टा), एलोभेरा आदि देखिएका छन् । अन्य जडिबुटीको पहिचान हुन नसकेका थुप्रै जडिबुटीहरू पनि छन् ।

यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाल लगायतका रहेका छन् । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ । नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरु कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपुर उपयोग हुन नसकेको गुनासो सुनिएको छ ।

जडीबुटीलाई गुणस्तरीय उत्पादन र जनचेतना फैलाउनु आवश्यक छ । नेपालमा अवैध जडीबुटी कारोबार गर्नेलाई जडीबुटी जफत र आवश्यकता अनुसारको दण्ड सजाय गर्ने प्रावधान रहेको छ । विभागले हाल इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलाली जिल्ला वनस्पति कार्यालय मार्फत जडीबुटीको अध्ययन, अनुसन्धान र विस्तार गर्दै आएको भनेको छ ।

जडिबुटी नेपालीको सम्पदा हो, यसको उपयोग नेपालमा हुन आवश्यक छ । हरेक एलोपैथिक उधोगलाई अनिवार्य आयुर्वेदिक औषधि उत्पादन गर्ने जिम्मा दिएमा नेपाली जडिबुटीले राम्रो स्थान पाउने सम्भावना देखिएको छ । नेपालमा शास्त्रीय औषधिको अभावमा छिमेकी मुलुकबाट महंगो मुल्यमा औषधि खरिद गरेर खान बाध्य पारिएको देखिन्छ ।

जडिबुटीको पहिचानको अभावमा बहुमुल्य औषधि त्यसै खेर गएको अवस्था छ । देशमा सवै हुदाहुदै पनि बाहिरबाट कच्चा पदार्थ खरिद गरेर ल्याएको कुरा देख्न सकिन्छ । यस्ता अनेकौं जडिबुटी यहाँ छन् यस्ता जडिबुटीको उपयोग गाउँघरमा प्रयोग हुन सकिरहेको छैन । जडिबुटी प्रयोग हुन सकेमा अरूको निर्भरमा बाच्नुपर्ने कुराको अन्त हुने देखिएको छ ।

यो पनि पढ्नुहोस्

अदुवाका औषधि उपचारहरु

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु

स्वास्थ्यको लागि चमत्कारीक जडिबुटी पुनर्नवाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !