हर्बल के लाई भन्दछन् ? Nepalpatra हर्बल के लाई भन्दछन् ?
५ माघ २०७७, सोमबार

हर्बल के लाई भन्दछन् ?


हर्बल

जडिबुटी भन्नाले जंगलमा पाइने एकल बुटी जसको जरादेखि पातसम्म औषधिमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता जडिबुटीबाट बनेका एकल औषधिलाई हर्बल नामले पुकारिन्छ भने कुनै ४/५ प्रकारको जडिबुटी मिलाएर बनाएको औषधिलाई आयुर्वेदिक औषधि भन्ने चलन छ ।

प्रकृतिले हामीलाई धेरै ठूलो उपकार गरेतापनि हामीले यस्को प्रयोग गरेर लाभ उठाउन सकिरहेका छैनौं केहि कम्पनीले हर्बल औषधि बनाएर तालिम दिएर दक्ष जनशक्ति तयार गरेर मानव सेवा दिएको हामीले देख्न सक्छौं ।

अनुभवी व्यक्तिहरूलाई परम्परामा आधारित उपचार गर्ने प्रणालीको बिकास गर्नुपर्छ । यस्तो उपचार भारतीय वैद्यहरूले गर्दै आएका छन् । यस्ता औषधिहरूबाट उपचार गराउदा रोग मात्र नभई रोगसंग लड्न सक्ने क्षमता समेत बृद्धि हुने कुरा विज्ञहरू बताउछन् । हामीले प्रयोग गर्ने जडिबुटीको विधिसम्मत प्रयोग भने भारतीय महाद्वीपबाट भएको देखिन्छ । जडिबुटीको वैज्ञानिक प्रयोग गर्ने परम्परा बसाल्ने काम भने ऋषिमुनिले गरेका थिए ।

सबैभन्दा पुरानोे ग्रन्थ यजुर्वेदमा जडिबुटीको प्रयोग सम्बन्धि विधि उल्लेख भएको पाइन्छ । झण्डै ५ हजार वर्ष अगाडिदेखि जडिबुटीको प्रतिपादन भइसकेको प्रमाण वेदले नै दिएको छ । त्यसैबेला के खान हुन्छ, के हुँदैन ? के लगाउन हुन्छ, के हुँदैन ? कुन वनस्पतिको प्रयोग कसरी, किन, कहिले र कसले ? गर्ने भन्ने विधिविधान आयुर्वेद अन्तर्गत बनाइएको पाइन्छ ।

जडिबुटीको प्रचुर सम्भावना भएको हिमाली राज्य नेपालमा यस विद्याको विकास हुन नसक्नु दुर्भाग्य भन्दा खासै फरक पर्दैन । प्राकृतिक जडिबुटिको उपचार विधिको प्रयोग गरेर हाम्रा पुर्खाले जगतलाई उत्तम उपचारको खोजी गरेका थिए । प्राकृतिक उपचार अन्तर्गत ध्यान, योग, साधना ,आदिको आविष्कारमा हाम्रै हिमाली जडिबुटीको सुगन्ध प्रयोग भएको देखिन्छ ।

त्यसैले यिनैको मार्ग समातेर हामीले अहिलेसम्म ध्यान, साधना र योग प्रयोगका अनकौं विधि र नियम सिकिरहेका छौं । आफ्ना पिँढी-पुस्तालाई यसो गर उसो गर भनेर अर्ती दिइरहेका छौं । जडिबुटी नेपालको सम्पत्ति हो । यिनको उपयोगिता, पहिचान र प्रयोग हामीले गर्न सक्नुपर्छ ।

यस विद्याको प्रशारण मुख्य गरी बाउबाजेबाट छोरा-नातिमा हस्तान्तरण गर्दै जनश्रुति विधिबाट हुँदै आएको छ । गाउँघरमा भने अझै पनि परम्परागत रुपमा पुर्वजबाट सिकेको जडिबुटी सम्बन्धी ज्ञानले घरैपिच्छे वैद्य, लामा, धाँमीझाँक्री र झारफुक गर्नेहरुले स्थानीय वनजंगल ,पाखा, पखेराबाट खोजी गरी थिचेर, पिसेर, पकाएर, घोटेर, रोगको उपचार गर्ने परम्परा जीवितै छ ।

आयुर्वेदिक उपचार विधि सस्तो र सजिलो त छँदैछ । साथै नकारात्मक असर अर्थात् ‘साइड इफेक्ट’ नहुने खालको सर्वहितकारी पनि छ र सर्वसुलभ पनि छ । हामीले जन्मैदेखि छोएका तिनको गन्ध सुँगेका र न्वारानदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग गर्दै गरेका तिनकै शक्ति र पोषण प्रयोग गरी जीवन धानेका यस्ता जडिबुटी हाम्रै खेत, खोला, करेसाबारी, भिर, कान्ला र पखेरामा जताततै पाइन्छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !