८ बैशाख २०८१, शनिबार

जडिबुटी सङ्कलनलाई बनाएको भवन भाडामा


जडिबुटी

म्याग्दी, ३ मङ्सिर । जडिबुटी सङ्कलन र भण्डारणका लागि सरकारी अनुदान लिएर म्याग्दी उद्योग वाणिज्य सङ्घले बेनीमा बनाएको भवन भाडामा लगाएको छ । प्रदेश सरकारको अनुदानमा कार्यालय भवनको तला थपेको म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई कोठा भाडामा लगाएको हो । डिभिजन वन कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०७५÷७६ मा सङ्घले सहकारीमार्फत जडिबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरण कार्यक्रमका लागि रु १४ लाख २५ हजार अनुदान पाएको थियो ।

सो अनुदानबाट सङ्घले कार्यालय भवनको माथिल्लो तलामा एक कोठा बनाएको थियो । कूल रु १७ लाख ८१ हजार लागत अनुमान गरिएको कोठा बनाउन सङ्घले ३० प्रतिशत लगानी गरेको देखाएको छ । सो कोठामा प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको प्रधान कार्यालय राखिएको छ । जडिबुटी हुनुपर्ने कोठाभित्र सोफा, दराज, कुर्ची र टेबुल छन् ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले अघिल्लो आर्थिक वर्षमा निर्माण भएको उक्त भवनको सम्झौता अनुसारको काम भएपछि भुक्तानी भएको बताउनुभयो । अनुदान लगेर उद्देश्यअनुसार काम नगर्नेलाई के गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था नहुँदा समस्या भएको उहाँको भनाइ छ । ‘‘अघिल्लो आर्थिक वर्षमै बनेको भवन हो,’’ उहाँले भन्नुभयो,‘‘जे उद्देश्य हो त्यही अनुसार प्रयोग भए राम्रो हुने हो । उद्देश्य विपरीत प्रयोग गर्नेलाई के गर्ने भन्ने स्पष्ट व्यवस्था छैन् ।’’

म्याग्दीका गुर्जा, मुदी, चिमखोला, कुइनेमङ्गलेलगायतका उच्च पहाडी क्षेत्रका जङ्गलमा जडिबुटी पाइन्छ । जङ्गलमा सङ्कलन गरेर ल्याएको जडिबुटी भण्डारण गर्ने सुविधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनीहरुले आफ्नै घर–घरमा जडीबुटी भण्डारण गर्छन् । जडिबुटी सङ्कलन हुने ठाउँमा बनाउनुपर्ने पूर्वाधार बजारमा बनाउँदा कृषकले सुविधा नपाएका हुन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले भने भवन बनाए पनि जडिबुटी सङ्कलकले चासो नदेखाएका कारण रित्तै राख्नु भन्दा मोनाको कार्यालय सञ्चालनका लागि भाडामा दिएको बतानुभयो । उहाँका अनुसार मोनालाई कोठा भाडामा दिएको पाँच महिना भयो ।

जडिबुटी सङ्कलक तथा निकासीकर्ताले माग गरेमा भवनको भूइँ तलामा खाली हुन लागेको कोठामा भण्डारणको व्यवस्था मिलाउने अध्यक्ष कर्माचार्यले बताउनुभयो । ‘‘एक वर्षसम्म खाली राख्यौं, कोही व्यापारी र सङ्कलक सम्पर्कमा आउनुभएन्,’’ उहाँले भन्नुभयो, ‘‘खाली राख्नुभन्दा मोनाको कार्यालयका लागि दिएका हौँ । जडिबुटी भण्डारणका लागि आउनुभयो भने तल्लो तलाकै कोठा उपलब्ध गराउछांै ।’’

गाउँबाट ल्याएर निकासीका लागि लैजाने क्रममा बेनीमा अनुमति लिने समयसम्मका लागि राख्नका लागि सो कोठा बनाइएको हो । तर व्यापारीले जडिबुटी थोरै हुँदा आफूसँग राख्ने गर्छन् । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा म्याग्दीबाट १९ प्रकारका जडिबुटी सङ्कलनलाई पूर्जि जारी भएको थियो । अतिसजरा, विष, नागबेली, खिरौले, लोक्ता, भिरमह, रातो च्याउ, निरमसी, कुट्कीजरा, सतुवाको गानो, पदमचालजरा, पानीअमला, पाषणभेद जरा, सुगन्धवाल, कुरिलोजरा, शिलाजित, अल्लो, मजिठोको डाँठ र चिराइतो सङ्कलनका लागि पूर्जि जारी भएको हो ।

कोरोनाको जोखिमले गत वर्ष यार्सा गुम्बा सङ्कलन तथा छोडपूर्जि जारी भएन् । कूल २६ हजार ३४२ केजी जडिबुटी सङ्कलन गर्न छोडपूर्जी जारी भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताउनुभयो । ‘‘सङ्कलन पूर्जि जारी गरेवापत चार लाख सात हजार ८५० रुपैयाँ राजश्वसमेत सङ्कलन भएको छ’’, उहाँले भन्नुभयो ‘‘सङ्कलन पूर्जि लगेका सबैले कोरोनाका कारणले निकासीका लागि छोडपूर्जी भने लिएका छैनन् ।’’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !