, आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

इलाम, १५ भदौ । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको हो । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि पनि आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने आयुर्वेदिक चिकित्सकको सुझाव छ । जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।

जण्डिसका ‘जडी’ वालकृष्ण
दुई दशकदेखि जण्डिसको उपचार गर्दै आउनुभएका इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका बालकृष्ण सापकोटाले घरायसी जडीबुटी मिलाएर नै औषधि बनाउनुहुन्छ र बिरामीलाई वितरण गर्नुहुन्छ । जिल्लाका मात्र नभइ अरू जिल्लाका जण्डिसका बिरामीलाई समेत निको पार्ने बालकृष्णलाई २०५१ सालतिर आफ्नै बहिनीको जण्डिस लागेर यहाँ उपचार सम्भव नभएपछि भारतका धेरै अस्पताल धाउनुप¥यो ।

रोग निको नहुने र यही रोगले मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएपछि बालकृष्णलाई अत्यन्तै पीडा भयो । आफू बसेको ठाउँको नजिकका व्यक्तिले बहिनीको उपचार आयुर्वेदिक विधिबाट गर्न उहाँलाई सल्लाह दियो । उहाँकै सल्लाहले बालकृष्ण बहिनीलाई लिएर भारतको वङ्गालका एक गुरु कहाँ गए । ती गुरुले दिएको औषधिले बहिनीको शरीरमा सुधार आउन थाल्यो । त्यसपछि बालकृष्णले गुरु समक्ष आफूले पनि जण्डिसको औषधि सिक्न चाहेको बताउनुभयो । गुरुसँग १५ दिन जडीबुटी बटुल्न र त्यसपछि औषधि बनाउन सिकेको शिक्षाले नै अहिले बालकृष्ण जण्डिसका नाम चलेका वैद्य हुनुभएको छ ।

“आजसम्म एक÷दुई जना बाहेक धेरैको जण्डिस रोग निको पारेको छु । घरमा नै उपचार गर्छु” बालकृष्णले भन्नुभयो, “अहिलेसम्म कतिलाई उपचार गरे एकिन तथ्याङ्क त आफूसँग छैन तर दश हजारभन्दा बढी बिरामीलाई निको पारेको छु ।” उहाँले गाउँकै जङ्गली असोगन्धा, पथ्थरजट्टा, विनाजरी, वन घिरौलालगायतका जडीबुटी मिसाएर औषधि बनाउने गरेको बताउनुभयो ।

सपनाबाट सिकेर वैद्य बनेका भुजेल
सन्दकपुर गाउँपालिकाकै जमुनाका मानबहादुर भुजेल पनि गाउँका कहलिएका वैद्य हुनुहुन्छ । गाउँमा कसैको खुट्टा मर्कियो, भाँचियो वा अरू केही भयो भने भुजेलकैमा पुग्छन् । २०४६ सालदेखि गाउँमा हाडजोर्नी तथा नसाको उपचार गर्दै आउनुभएका भुजेल आफूले सपनाबाट उपचार पद्धति सिकेर वैद्य भएको दाबी गर्नुहुन्छ ।

गाउँका मात्र नभइ झापा, धनकुटा र काठमाडौँदेखिका बिरामीसमेत उपचारका लागि आफू कहाँ आउने गरेको दाबी भुजेलको छ । “धर्म सम्झेर उपचार गर्छु, गाउँमा फोन गरेर बोलाउँदा औषधि लिएर पुग्छु” उहाँले भन्नुभयो, “औषधिको दाम यति उति भन्दिन । एथाशक्ति रूपमा दिनुभयो भने लिन्छु नभए धर्म सम्झेर फर्किन्छु ।”

तराई÷मधेशमा पाइने हर्रो, बर्रो पथ्थरको बोक्रा, अमलाको बोक्रा र लेकका जडीबुटी सतुवा, भोगटेको बोक्रो कुटेर औषधि बनाउने गरेको उहाँले बताउनुभयो । जडीबुटी भनेर हेला गर्नु हुँदैन, अस्पतालले उपचार गर्न नसकेका बिरामीलाई आफूले निको गरेको दाबी भुजेलको छ ।

भारतको सीप नेपालमै खन्याउँदै गरेका वैद्यराज
सूर्योदय नगरपालिकास्थित पशुपतिनगरका कुलबहादुर राईले २०१३ सालमा भारतको कलकत्तामा आयुर्वेदिक शिक्षा शुरु गर्नुभयो । शुरुमा जटिल लागेको यो विषय सात वर्ष अध्ययन गरेपछि मात्र केही उर्जा थपियो । विशेष गरी महिलामा बाँझोपन, पाठेघरको समस्या, प्रसूति तथा यौन रोगको उपचार गर्नुहुने राईले आफ्नो उपचारबाट अहिलेसम्म धेरै जनालाई निको भएको बताउनुभयो ।

आफै जडीबुटी सङ्कलन गरेर औषधि बनाउने गरेका राईले औषधि तयार पार्न धेरै दुःख झेल्नु परिरहेको बताउनुभयो । आफूले बनाउने औषधिमा दुर्लभ किसिमको जडीबुटी पर्ने भएकाले यसका लागि कर तिर्नुपर्ने, नापी गर्नुपर्ने र सम्बन्धित कार्यालयबाट स्वीकृति लिएपछि मात्र ल्याउनु पर्नेजस्ता झन्झट बेहोर्नु परिरहेको उहाँको भनाइ छ । “जटामसी, लेमन ग्रास, खैरको बोक्रा, पाँचऔलेलगायतका जडीबुटी मिसाएर औषधि तयार गर्नुपर्छ । यी औषधि किन्न वन कार्यालयको स्वीकृत चाहिन्छ”, उहाँले भन्नुभयो, “वन कार्यालयको स्वीकृति लिएर पहिलै निश्चित जग्गा खरीद गर्नुपर्छ र त्यसबाट उत्पादित औषधि लिँदा पनि कर बुझाउनु पर्छ । साहै्र सकस छ ।”

घरेलु तथा साना उद्योग विकास शाखाबाट आफूले प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा आयुर्वेदिक उपचार पद्धति सिकाए पनि पछिल्लो पुस्ताले यसप्रति खासै चासो नदेखाएको राईको भनाइ छ ।

हड्डी रोग निको पार्ने गाउँले गुरु
सूर्योदय नगरपालिकाकै लोकश सुब्बाले पनि लामो समयदेखि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दै आउनुभएको छ । आफ्नै घर छेउमा औषधालय खोलेर हड्डी खिएको र मर्किएको बिरामीलाई उहाँले उपचार गर्दै आउनुभएको छ । “जडीबुटीबाट बनेको मात्र औषधि चलाउँछु । अहिले सम्म ठिक भएन भन्दै कोही आउनुभएको छैन”, उहाँले भन्नुभयो, “२०६१ सालदेखि पेसागत रूपमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्न थालिएको र यसका लागि ‘सुब्बा आयुर्वेदिक उपचार केन्द्र’ नामक औषाधालय समेत खोलेको छु ।”