११ बैशाख २०८१, मंगलबार

मानव स्वास्थ्यको लागि बोजोको प्रयोग गर्नुका फाइदाहरु


बोजो
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बोजो मानव स्वास्थ्यमा धेरै पहिलेदेखि चल्दै आएको वनस्पति हो । यसको वैज्ञानिक नाम Acorus Calamus हो । यसलाई ‘स्विट फ्ल्याग’ नामले विदेशीहरूले भनेको सुनिन्छ । आयुर्वेदमा यस्को महत्व ठूलो छ । बोजोलाई धेरै जसोले गाउँघरमा पेट दुख्दा फुल्दा, खोकी लाग्दा चुस्ने खाने गरेको पाइन्छ ।

बोजोलाई बाथ, दाँतको दुखाइ, कफदोष, स्वरभेद (स्वर बसेको), आउँ, झाडापखाला, ब्रोन्काइटिस, ज्वरो आदिमा प्रयोग गरेको पाइन्छ । आज यो वनस्पति पनि लोपोन्मुख हुने अवस्थामा छ । नेपाल भाषामा यसलाई सापी या बोजो भन्ने गरेको पाइन्छ । थारू र हिन्दी भाषीले चाहिं वच भन्ने गरेको सुनिन्छ ।

वैद्यहरूको झोलामा प्राय बोजोका साना साना टुक्रा राखेको देख्न सकिन्छ । बुढा-बुढीहरूले खोकी लाग्दा प्राय: बोझो लिने गरेको पाइन्छ । एलोपैथिक औषधि सेवन गर्दा गर्दा ठिक नभएका विरामीहरूलाई प्राय: बोजो दिएर निको गरेको सुन्न सकिन्छ । बोझोको प्रयोगले स्वर सफा गराउन पनि बेजोड काम गरेको पाइन्छ ।

म सानो छदा एकपटक स्वर बसेकाले सानो टुक्रा चुस्न दिइएको थियो । तुरुन्त स्वर बसेको खुलेको थियो यस्ता थुप्रै समस्यामा बोजोको प्रयोग गरेर स्वास्थ्य लाभ दिन सकिने देखिन्छ । कतिपय व्यक्तिहरूले बोजोको साना-साना टुक्रा पारेको बोजोलाई मालामा उनेर घाँटीमा बाध्ने गर्दा यसको गन्धले नै केहि नखाई खोकी निको गरेको मैले केहीको मुखबाट सुन्दै आएको छु ।

बोझोमा यस्तो शक्ति छ जसले गन्धको साहेता बाट पनि रोग निको भएका छन् भएन त चमत्कार । युनानी उपचार पद्धतिमा बोजोलाई दिमाग तन्दुरुस्त राख्ने भिटामिन, शारीरिक कमजोरी, पेट सम्बन्धी गडबडी, कलेजो तथा छातीको दुखाइ, मिर्गौला सम्बन्धी समस्या आदिमा पनि प्रयोग गरिएको पाइन्छ ।

आयुर्वेदिक चिकित्सामा बोजोबाट थुप्रै औषधि बनाएको छ । जस्तै दिव्य मेघा बुटी, संजीवनी बुटी, सरस्वत चूर्ण, अश्वगन्धारिष्ट आदि औषधिहरू बनाइने गरेको पनि पाइन्छ। औषधि जन्य वनस्पतिको धनी देश नेपाल हामी नै किन यसबारे अनभिज्ञ छौं त ?

पुर्खामा भएका यस्ता औषधिमूलोका ज्ञान हामीमा किन हुन सकेन ? यसबारे थोरै मात्र जानकारी लिने प्रयत्न गर्नेहो भने पनि हामी जवाफ पाउन सक्छौं – हामीले आफ्नै परम्परागत ज्ञान, सीप र अभ्यासमा भरोसा गरेनौं र परनिर्भर विदेशीले बनाएको औषधिमा मात्र विश्वास गर्न पुगेका छौं र यहि कारण आज यस्ता औषधि लोपोन्मुख हुन पुगेका छन् ।

बोजोलाई गमलामा फूल जसरी रोप्न सकिन्छ । बोजोको पात सधैं हरियो हुनाले यसले सुन्दरतासँगै सुगन्ध पनि प्रदान गर्छ । तर, यसलाई गमलामा रोप्ने त परै जाओस्, नर्सरीहरूमा पनि राखिएको देखिन्न । त्यसो त बिक्री नै नहुने भएपछि नर्सरीमा राख्नुको पनि औचित्य रहन्न ।

अहिले सरकार लाखौं रूख रोप्ने कुरा गर्दैछ । यस्तो बेला रूखसँगै बोजो जस्ता औषधिजन्य वनस्पति रोप्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । आयातित वनस्पतिलाई प्रश्रय दिनुभन्दा आफ्नै वनपाखामा पाइने वनस्पति रोपिनु आर्थिक हिसाबले मात्र होइन, जैविक विविधताका दृष्टिले समेत उपयुक्त हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !