१३ बैशाख २०८१, बिहिबार

रेबिज मानिसमा कसरी सर्छ ?


रेबिज पनि एक प्रकारको भाइरस हो । यो स्याल, ब्वाँसो, फ्याउरो आदि जनावरबाट घरपालुवा पशु जनावरमा यो रोग सर्दछ । यो रोग प्राय पागल कुकुरको टोकाइबाट मानिसमा सर्छ। रेबिज रोग लागेका पशु पानी देखि डराउने भएकाले यसलाई हाइड्रो फोबिया भन्दछन् ।

रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ । रोगी जनावरको र्‍यालद्वारा घाउ मार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए ।

त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो । चरा वा स्तनधारी वर्गका यी जनावर, जसलाई लाईसा नामक भाइरसको सङ्क्रमण छ, त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ ।

मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुरा कुन जनावरले टोेकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।

मानीसलाई रेबिज रोग लागेको भएमा पानीवाट डराउँछ । रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ । लक्षणहरू रोगको ३ अवस्था अनुसार देखा पर्दछन् ।

रेबिज रोगको पहिलो लक्षण – टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था – चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग जे गर्दा पनि रिसाउने, पानीदेखि डराउने, श्वास-प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था – र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने अन्तमा मृत्यु हुने हुन्छ ।

जान्नुपर्ने कुरा

१. रेबिज रोग सार्न सक्ने जनावरले टोकेको उपचार गर्न तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ । नियमित सुर्ई लगाएको स्वस्थ घरपालुवा जनावरले टोकेको भए आत्तिनुपर्दैन । रेबिज लागेको वा शंकास्पद जनावरले टोकेको बुझिएमा रेबिज विरुद्ध खोप लगाउनुपर्छ, त्यो पशुले लक्षण देखाउला र उपचार गरौँला भनेर बस्नु हुँदैन । यसबाहेक टोकेको ठाउँको घाउ तातो पानीले राम्रोसंग धुन, सफा गर्न बिर्सनु हुँदैन ।

रेबिज लागेको जनावरले टोकेमा

रेबिज रोग लागेको जनावरलाई सकेसम्म मार्नु पनि हुँदैन । कम्तीमा १० दिन निगरानीमा राख्नुपर्छ र १० दिनभित्र मरेमा रोग निदानका लागि प्रयोगशाला पठाउनुपर्छ ।

उपचार

१. रेबिजविरुद्ध खोप लगाउनुपर्छ । यो खोप सरकारले नि:शुल्क बाँडेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !