, सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै

सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै

हेटौँडा, २० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।

असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पु¥याउन उद्देश्यले शुरु गरिएको यो सेवाप्रति महिलाको आकर्षण र चेतनास्तरमा भएको वृद्धिले पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण स्वास्थ्य जाँच, उपचार, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाजस्ता अत्यावश्यक स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुन नसकिरहेको अवस्थामा भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा भने हिजोआज सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । लकडाउनका कारण बजारका ठूला अस्पतालसम्म पुग्न असजिलो हुने भएकाले यहाँका महिलाहरु सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा स्थानीय स्वास्थ्य केन्द्रबाट नै लिने गरेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले बताउनुभयो । “महिलाको जनचेतनामा आएको वृद्धिका कारण सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा लिनेहरुको सङ्ख्यामा वृद्धि भएको हुन सक्छ”, उहाँले भन्नुभयो, “विगतमा अन्यत्र रहेका तर लकडाउनपछि घर फर्किएका सेवाग्राही बढेका कारण स्थानीय स्वास्थ्य केन्द्रमा सेवा लिनेको सङ्ख्या बढेको हुन सक्छ ।”

बेलाबेलामा गाउँपालिका आफैँले तथा यहाँ क्रियाशील महिला समूह, किशोरी समूह, आइपास नेपाल, ओचिण्ड मकवानपुरजस्ता गैरसरकारी सङ्घसंस्थाले सर्वसाधारण नागरिकको चेतनास्तर वृद्धिका लागि गरेको सचेतनामूलक कार्यक्रमको प्रभावका कारण पनि उनीहरुमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा चेतनावृद्धि भएकाले पनि सेवाग्राही बढेको हुन सक्ने अनुमान उहाँको छ । तीन स्वास्थ्य एकाइ, चार स्वास्थ्यचौकी र चिकित्सकसहितको एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरी आठ वटा स्वास्थ्यसंस्थामार्फत गाउँपालिकामा सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध भइरहेको गाउँपालिकाका अध्यक्ष थिङ्ले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसबाहेक स्वास्थ्य स्वयंसेविकामार्फत प्रजनन स्वास्थ्य, परिवार नियोजन, मातृशिशु, सुरक्षित गर्भपतनजस्ता स्वास्थ्य परामर्श सेवा एवं परिवार नियोजनका अस्थायी साधन वितरण गर्ने काम नियमितरूपमा भइरहेको छ । गाउँपालिकामा प्रत्येक महिना महिला स्वास्थ्य स्वयंसेविकाको बैठक बस्ने र बैठक सकेर घर फर्कंदा स्वयंसेविकाले कण्डम, पिल्सजस्ता परिवार नियोजनका अस्थायी साधन लिएर जाने र आवश्यक भएकालाई निःशुल्क वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।

यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा काम गर्ने यहाँ क्रियाशील विभिन्न सङ्घसंस्थाले सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिँदा हुने फाइदा तथा अवैधानिक र असुरक्षित संस्थाबाट सेवा लिँदा हुने हानी नोक्सानीका बारेमा गाउँगाउँ र टोलटोलमा समूह बनाएर जानकारी गराएका कारण मान्यता प्राप्त संस्थामा गर्भपतन गराउन आउनेको सङ्ख्यामा वृद्धि भएको दावी स्थानीयवासीको छ ।

विगतमा अशिक्षा तथा डरका कारण सुरक्षित गर्भपतन सेवा लिन हिच्किचाएर असुरक्षित तथा स्वास्थ्यमा गम्भीर असर पर्ने गरी सेवा लिनेको सङ्ख्या अधिक रहेको र हाल चेतनास्तरको वृद्धिका कारण मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिनेको सङ्ख्या बढिरहेको निवुवाटार स्वास्थ्यचौकीका सुरक्षित गर्भपतनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी सानु लामाले बताउनुभयो । भीमफेदी गाउँपालिकामा भएका दुई मान्यताप्राप्त सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने संस्थामध्ये पछिल्लो निबुवाटार स्वास्थ्यचौकीमा हाल मासिक छ जनासम्मले सुरक्षित गर्भपतन सेवा लिने गरेका छन् ।

त्यस्तै, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक १० जनासम्मले सुरक्षित गर्भपतन सेवा लिने गरेको स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा हेर्ने स्वास्थ्यकर्मी जुना घिसिङले बताउनुभयो । उहाँका अनुसार सुरक्षित गर्भपतनका साथसाथै गर्भपतनपश्चातको परिवार नियोजन सेवा लिनेको दर पनि बढिरहेको छ । उहाँले केन्द्रमा अविवाहित किशोरीदेखि नचाहँदानचाहँदै गर्भ रहनपुगेका विवाहित महिलासमेत गर्भपतनका लागि आउने गरेको र आफूहरुले अति गोप्य र सुरक्षित तवरले गुणस्तरीय सेवा दिने गरेको बताउनुभयो । “सुरक्षित गर्भपतन गर्दा हुने महिलालाई सहज र सेवाका बारेमा स्थानीयस्तरका महिलामा परामर्शका कारण एक वर्षयता स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ”, स्वास्थ्यकर्मी घिसिङले भन्नुभयो, “यो सेवाबाट स्थानीय महिलालाई निकै सहज भएको छ । इच्छा नभएका गर्भ गर्भपतन गराउन आवश्यक महिला तथा किशोरीलाई सुरक्षितरुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु कार्यक्रमको मुख्य उद्देश्य छ ।”

भीमफेदी गाउँपालिकामा प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी बुझाइ पहिलेभन्दा फेरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखा तथा जनप्रतिनिधि एवं सङ्घसंस्थाको पहलमा चेतनामूलक कार्यक्रम गर्नाका कारण समाजमा सकारात्मक परिवर्तन आएको उहाँको भनाइ छ । विभिन्न सङ्घसस्थाले पालिकाको काममा होस्टेमा हैसे गरेको उहाँले बताउनुभयो ।

विगतमा कुनैबेला अनिच्छित गर्भपतन गराउनु कानूनीरूपमा अवैधानिक थियो । कसैले त्यसरी गर्भपतन गराए भ्रुण हत्याको आरोपमा कानूनी सजाय भोग्नुपथ्र्याे । कानूनको डरले गर्भपतन गर्ने काम भने रोकिँदैन थियो । गर्भपतन गराउने लुकीछिपी विभिन्न असुरक्षित तरिकाले गर्भपतन गराउँथे ।

गर्भपतनसम्बन्धी कानून बनिसक्दासमेत अशिक्षाका कारण कतिपय त गर्भपतन गराउन झारफुक गर्ने, झारबुट्टा तथा हानिकारक चिजवस्तु खाने, गह्रौँ वस्तुले पेटमा हान्ने एवं तिखा तथा धारिला वस्तुले यौनाङ्ग र पाठेघरमा घोच्नेलगायतका घातक प्रयास हुन्थे । अविवाहित गर्भवतीले मानसिक तनावको व्यवस्थापन गर्न नसक्दा जीवन नै त्यागेका थुप्रै उदाहरण भेटिन्थे । तर हिजोआज समय फेरिएको छ । देशमा भएका तीन तहका सरकारले चेतनावृद्धिका लागि काम गरिरहेका छन् । भीमफेदीमा ओचिण्डजस्ता सामाजिक सङ्घसंस्थाले घरघरमा पुगेर चेतना फैलाइरहेका छन् । तालिम, गोष्ठी आयोजना भएका छन् ।

निश्चित अवधिको गर्भपतन गराउन पाउने कानून बनेपछि जोसुकैले पनि कानूनीरूपमै र गोप्य तवरले अनिच्छित गर्भपतन गराउन पाउने भएका छन् । गर्भपतन कहाँ, कसले, किन, कसरी र कोबाट भन्ने जानकारी प्राप्त गरेका इच्छुकहरुलाई सेवा लिन सजिलो भएको छ । स्थानीय सरकार तथा ओचिण्ड मकवानपुरले गर्भपतन नै गराउन नपर्ने अवस्था सिर्जना गर्न परिवार नियोजनका अस्थायी र स्थायी साधनका बारेमा चेतना कुनाकुनासम्म पु¥याउन लागिपरेको दखिन्छ ।(रासस)