८ बैशाख २०८१, शनिबार

नेपालमा महामारीको ऐतिहासिक दृष्टान्त


सुरेन्द्र प्रसाद सिग्देल
सुरेन्द्र प्रसाद सिग्देल

तत्कालिन पाटनका प्रसिद्ध राजा सिद्धिनरसिंह मल्लको शासन कालमा पाटन र त्यसका आसपास गाउँमा एकाएक महामारी फैलिएर हाहाकार मच्चिएछ । उक्त महामारी साम्य गर्न अनेक उपायहरू अपनाइएछ । औषधि-मूलो, पूजा-पाठ गर्दा पनि महामारी साम्य हुन नसकेकोले, महामारी रोकथाम तथा साम्य पार्न धन्वन्तरि, बैद्य तथा यज्ञ-यज्ञादि गरी शान्ति-स्वस्ती गर्ने व्यक्तिको व्यापक खोज-तलास भयो ।

खोज-तलासकै क्रममा हालको वागलुङ् जिल्लाको हुग्दीशिर गा.पा. सिग्दी भन्ने गाउँमा वसोवास गर्ने बैद्य तथा कर्मकाण्डमा पारङ्गत विद्वान नैष्ठिक ब्रह्मण श्री सदाशिव सिग्देलले यस्ता रोगको रोकथाम गर्न सक्दछन् भन्ने थाहा पाएपछि राजाले ती विद्वान लाई झीकाउन डोला पठाएछन् । राजाको आग्रहलाई स्वीकार गरी श्रीसदाशिवज्यूले पाटन र थानकोट २ स्थानमा शान्तिश्वस्ति यज्ञ गराउनु भयो । यज्ञ सम्पन्न भएपछि घनघोर वर्षा भएछ र उक्त महामारी शान्त भएको थियो । यो ऐतिहासिक दस्तावेज सिग्देलहरूको वंशावलीमा उल्लेख भएको छ । (उहाँ मेरा प्रातः स्मरणीय पूर्वज हुनुहुन्छ । उहाँ नै काठमाढौं आउने पहिलो सिग्देल वंशिय ब्राह्मण हुनुहुन्छ ।)

राजा रणबहादुर शाहको शासन कालमा पनि बालकहरूलाई विफरको महामारी भएर बत्सला देवीको विशेष पूजा विद्वानबाटै गराएर शान्त भएको थियो भन्ने सत्य हाम्रो सामु भएकै कुरा हो । हाम्रो नेपालमा तथा भारतमा यस्ता रोगहरू तथा माहामारी भएको बखत विशेष देवी-देवताहरूको पूजा अर्चना तथा यज्ञ गरेरै समन भएका ऐतिहासिक दस्तावेजहरू पनि पाइन्छन् । हाल पनि हाम्रो देशमा त्यस्ता धन्वन्तरी बैद्य, श्रोत्रिय, नैष्ठिक विद्वानहरूको कुनै व्यक्तिले नभै हाम्रो राज्यले नै त्यस्तै खोजी गरी यस्ता यज्ञानुष्ठान गर्न आवश्यकता महशुस गर्दछु । यसै सन्दर्भमा एउटा वेदको ऋचा पाठक समक्ष राख्न गएको छु । हाम्रो धार्मिक मान्यताहरूले पनि यसलाई मार्ग निर्देश नै गरेको पाइन्छ ।

मुञ्च शीर्षक्त्या कास एनं परुष्पराविवेशा यो अस्य । यो अभूजा वातजायश्चशुष्मो वनस्पतीन्त्सचतां पर्वतांश्च ।।
–अथर्व वेद, काण्ड १ सूक्त १२।३

अर्थात् हे आरोग्यदाता सूर्यदेवता तपाईंले हामीलाई टाउको दुख्ने, खोकी लागेर भएको पिडाबाट मुक्त गरी दिनुहोस् । जोर्नीहरूमा छिरेको रोगका किटाणुहरूलाई नष्ट गरी दिनुहोस् । वर्षा, ग्रीष्म एवं हेमन्त ऋतुहरूको दुष्प्रभावबाट उत्पन्न उत्पन्न भएका त्रिदोष (कफ,वबत, पित्त) जनित रोगहरू समेतबाट परै राख । यसको लागि हामीहरू अनुकुल वातावरणको रूपमा पर्वत एवं वनौषधिको पनि सहारा लिन्छौं ।

*काठमाडौँ कपन निवासी सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक र रामायण रहस्य नामक सोधमूलक धार्मिक ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित  छ । 

यो पनि पढ्नुहोस् 

नरसिंह जयन्ती तथा अवतार

सीता एक पौराणिक रहस्य तथा सीता चरित्र

कुन देवी-देवताको उपासना गरे के-के फल प्राप्त हुन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !