१३ बैशाख २०८१, बिहिबार

जिल्लाका अस्पतालमा मास्क र ग्लोभ्स छैन, डाक्टर भन्छन् : कसरी गर्ने उपचार ?


मास्क

भक्तपुर, १० चैत । सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसारको सुरक्षाको व्यवस्था नभए अस्पतालले आइसोलेशन वार्ड तयार पारे उपचारमा स्वास्थ्यकर्मी नखटिने चिकित्सकहरुले बताएका छन् ।

पहिला सुरक्षा गर्न सके मात्रै सङ्क्रमित बिरामीको उपचार गर्न सकिने बताउँदै चिकित्सकहरुले सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षाका लागि सबै व्यवस्था गर्नुपर्ने बताएका हुन् । मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसूति रोग विशेषज्ञ एवं चिकित्सक डा रबिना प्रधानाङ्गले अस्पतालमा कोरोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टोली नै भाग्नुपर्ने अवस्थाको सृजना हुन नहुने बताउनुभयो ।

मध्यपुर अस्पतालले चार श्ययाको आइसोलेशन वार्ड तयार पारेर राखे पनि मेडिकल टोलीसँग आफू सुरक्षित छु भन्ने विश्वस्त पार्नेगरी व्यवस्था हुन नसके बिरामीको उपचारमा समस्या आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचारमा खटिने स्वास्थ्यकर्मीको टिम पहिला सुरक्षित महसुस हुनु प¥यो, आफ्नै ज्यान जोखिममा छ भन्ने जान्दाजान्दै बिरामीको नजीक जाने आँट कसैले गर्दैन, आवश्यक सुरक्षाका सबै पूर्वाधार एवं सामग्री तयारी अवस्थामा हुनुप¥यो ।”

आफ्नो अस्पतालमा सामान्य मास्क र ग्लोभ्ससमेत सकिएर किन्न खोज्दा बजारमा कहीँ नपाएको बताउँदै उहाँले अस्पतालका सबै स्वास्थ्यकर्मीले कपडाको मास्क लगाएर सेवामा खटिनु परेको बताउनुभयो । अस्पतालमा आइसोलेशन वार्ड मात्रै भएर के गर्नु, डाक्टर छिरेर काम गर्ने अवस्था आएन भने के मोबाइल र अनलाइनबाट उपचार गर्ने ? भन्दै डा प्रधानाङ्गले भन्नुभयो, “कोरोनाको बिरामी आए उपचार गर्ने सरकारको पूर्ण तयारी खै, साधारण मास्क छैन, सङ्क्रमितको उपचार गर्दा लगाउने एन नाइन्टी मास्क खै ?, पिपिई सेट खै ? मेडिकल टोलीको सुरक्षाका लागि खै व्यवस्था ?, मेडिकल टोलीको सुरक्षाको जिम्मा कसले लिन्छ ?”

कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक (पिपिई–पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट) बजारमा कतै नभएको र सरकारले समेत उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षित भएर काम गर्न नसकिने चिकित्सकको भनाइ छ । धेरै पाठ सिक्नुपर्ने आँैल्याउँदै उहाँले कोरोना सङ्क्रमितको उपचार अरू बिरामीको उपचार नहुने निश्चित तोकिएको अस्पतालमा मात्रै गर्नुपर्ने र मेडिकल टोलीको पूर्णसुरक्षाको अनुभूति गराउँदै निश्चित समयका लागि उपचार केन्द्रमै बस्ने गरी व्यवस्थापन हुनुपर्ने भनाइ राख्नुभयो ।

नागरिक अस्पतालकी नर्सिङ इन्चार्ज सुन्दरी जोशीले अस्पतालमा ज्वरो नाप्ने थर्मल गनदेखि मास्कसमेत नभएको बताउनुभयो । उहाँले रु चार हजार पर्ने एउटा थर्मल गनको बजारमा नौ हजार भनेको बताउँदै पिपिईसमेत नभई आइसोलेशनमा बिरामी उपचार गर्न नसकिने बताउनुभयो । सङ्क्रमित बिरामीको उपचारमा खटिएका व्यक्तिलाई घर जान दिइने हो भने घरपरिवार र अन्य व्यक्तिलाई पनि सङ्क्रमण हुने जोखिम उच्च रहने भएकाले यसबारेमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको माग छ ।

यता धुलिखेल अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने सरकारले तयार गरेपछि यहाँ स्वास्थ्यकर्मीदेखि कर्मचारीसमेत त्रसित भएका छन् । आज कोरोना आशङ्काका एक बङ्गलादेशी आएको र उसलाई ज्वरो देखिएपछि टेकु अस्पताल पठाइएको अस्पतालको आकस्मिक शाखाले जानकारी दिएको छ । अस्पताललाई कोरोना सङ्क्रमित बिरामीको उपचार केन्द्र बनाउने भनिए पनि अस्पतालमै सिलाएको कपडाको मास्क र कपडाकै गाउन लाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता भएपछि यहाँका कर्मचारीसमेत त्रसित भएको आशिश थापाले बताउनुभयो । ज्वरो नाप्न ढोकादेखि नै कर्मचारी खटाए पनि अस्पताल प्रशासन र शाखाप्रमुखले सम्भावित जोखिमलाई गम्भीर रुपमा नलिँदा कर्मचारीमै जटिल समस्या आउन सक्ने र ढुक्क भएर साँझ घर जान सक्ने अवस्था नभएको उहाँको गुनासो छ ।

कोरोना सङ्क्रमितको उपचार गर्ने भए निश्चित टोली बनाएर २४ घण्टा त्यही बस्ने र उपचार गर्ने गरी चीनले गरेको व्यवस्थाअनुसार गर्नुपर्ने यहाँका कर्मचारी र स्वास्थ्यकर्मीको भनाइ छ । अस्पताल प्रशासनले कर्मचारीको बेवास्ता गरेको गुनासो गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !