८ बैशाख २०८१, शनिबार

प्याडले छात्रा गयल अन्त्य : निर्धक्क विद्यालय आउन थाले


सेनेटरी प्याड

दमौली, १ फागुन । महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो ।

गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । छात्रालाई महिनावारीको समयमा कक्षा नियमितता बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

मिन माध्यमिक विद्यालयमा एक हजार ५००, राधा माध्यमिक विद्यालय एक हजार १७०, महेन्द्र माध्यमिक विद्यालयमा ७००, जनगणपति माध्यमिक विद्यालयमा ७००, विजय आधारभूत विद्यालयमा १००, गणेश माध्यमिक विद्यालयमा ३००, रत्न माध्यमिक विद्यालयमा ३००, प्रभा आधारभूत विद्यालयमा २००, अकला आधारभूत विद्यालयमा १००, पसले आधारभूत विद्यालयमा १०० सेनेटरी प्याड वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

गाउँपालिकाले गत वर्ष पनि नौ विद्यालयमा प्याड उपलब्ध गराएको थियो । प्याडले महिनावारी भएको समयमा छात्राहलाई विद्यालयमा नियमित गराउन सहयोग पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिनुभयो । “विद्यालयमा सेनेटेरी प्याड नपाउँदा महिनावारी भएको समयमा छात्रा विद्यालय नआउने, आए पनि बीचमै पढाइ छाडेर घर जाने गरेका थिए”, उहाँले भन्नुभयो, “गत वर्षदेखि विद्यालयमा नै प्याडको व्यवस्था हुन थालेपछि छात्रा निर्धक्क भएर विद्यालय आउन थालेका छन् ।”

सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरमा कमी आएको छ । “रजश्वलाको समयमा छात्रा विद्यालय नआउने दर बढ्दै गइरहेको थियो, विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित आउने गरेका छन्”, उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !