६ बैशाख २०८१, बिहिबार

प्रसूति भवनको काम रोकियो : स्वास्थ्य सेवा समस्या


स्वास्थ्यचौकी

जाजरकोट, २४ माघ । जिल्लाको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन निर्माण अगाडि बढ्न नसकेको हो ।

समयमा भवन नबन्दा गाउँमै प्रसूति सेवा पाउनबाट यहाँका महिला बञ्चित हुनुपरेको छ । सरकारी उदासिनताका कारण निर्माणको काम अलपत्र परेको स्थानीयवासीको गुनासो छ ।“ न त काम अघि बढ्यो न निर्माण व्यवसायीलाई कारवाही नै भयो राजबहादुर शाहीले भन्नुभयो, “एउटा व्यक्तिले काम नगर्दा सबै नागरिकले दुःख पाइरहेका छन् । काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न सक्दैन ?”

तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६९÷७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्शन प्रालि काठमाडौँले पाएको थियो । विसं २०६९ वैशाख ७ मा सम्झौता भई २०७० कात्तिक ६ गते डेढ वर्षमा काम सक्ने भनिएकोे थियो । तर सम्झौता भएको सात वर्ष बितिसक्दा भवन निर्माणकार्यले पूर्णता पाउन सकेको छैन ।

रु एक करोड ५० लाख लागतको उक्त भवन निर्माण सम्पन्न हुने बताइएको थियो । भवन नबन्दा स्वास्थ्य सेवा प्रवाहमा निकै समस्या भएको स्थानिय नरबहादुर शाहीले बताउनुभयो । ठेकेदारको चरम लापरवाहीले समयमा काम नगर्दा भवन अलपत्र परेको हो । निर्माणको जिम्मा लिएका ठेकेदारले बीचमै काम छाडेर गएपछि सरकारी लगानी बालुवामा पानीजस्तै भएको छ, उहाँले भन्नुभयो ।

भवन नहुँदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ । अहिले मजकोटवासीले ठेकेदारलाई कडा कारवाहीको माग गरेका छन् । भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय स्थानीयवासी प्रकाश शाहीले जानकारी दिनुभयो । व्यवसायीलाई पटक–पटक ताकेता गरिएको, पत्रपत्रिकामा सूचना जारी गरेर सम्पर्कमा आउन भनिएको भएपनि अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !