१३ बैशाख २०८१, बिहिबार

के हो नोवेल कोरोना भाइरस ? यसका लक्षणहरु र जोगिने उपायहरु


नोवल कोरोना भाइरस

चीनको उहान शहरबाट फैलिएर महामारीको रुपमा आतंक मच्चाइरहेको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखापरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो । श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाइसकेको छ।

मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले १३ जनवरीमा चीनबाट आएका एक विद्यार्थी संक्रमित भएको जानकारी दिए । उनीमा कोरोना भाइस छ छैन भन्नेबारे परीक्षणका लागि हङकङ पठाइएकाे ‘स्याम्पल’ आएपछि ती युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

१. के हो नोवेल कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविक नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

२. के मानिसमा जनावरहरुबाट नोवेल कोरोना भाइसर संक्रमित हुन सक्दछ ?

नोवेल कोरोना भाइरस जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हाल छैन।

३. के नोवेल कोरोना भाइरस र सार्स एउटै हुन् ?

सन् २००३ मा देखिएको सार्स र नोवेल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्दछन्। सबैभन्दा महत्वपूर्ण कुरा, नोवेल कोरोना भाइरस मानिसहरुबीच सजिलै सर्न सक्दछ भनेर अझै पुष्टि भएको छैन।

४. मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ ?

मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।

५. के यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ ?

अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले मानव–मानवबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन। साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ।

६. यस भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?

सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा एकिन जानकारी छैन। तथापी रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ।

७. नोवेल कोरोना भाइरसका मुख्य लक्षण के हुन् ?

ज्वरो आउने, श्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

८. नोवेल कोरोना भाइरस लाग्नै नदिन के गर्ने ?

नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु-अन्डा राम्रोसँग पाकेको मात्र खाने।

९. के कोरोना भाइरसको लागि उपचार छ ?

नोवेल कोरोनाभाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन। यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ। त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।

स्रोत : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य सेवा बिभाग (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !