८ बैशाख २०८१, शनिबार

अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी


स्वास्थ्यचौकी

भरतपुर, ११ पुस । चितवनमा पुनःनिर्माणको काम हालसम्म ६८ प्रतिशत पुरा भएको छ । कूल लाभग्राही सात हजार ४६० घरधुरीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरण जिल्ला कार्यन्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका अनुसार अझै ६७३ को सम्झौता हुनसकेको छैन ।

यस वर्ष जिल्लामा ७४५ घरको पुनःनिर्माण जारीरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सुजन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो किस्ता छ हजार ७८४, दोस्रो किस्ता पाँच हजार ५४० र तेस्रो किस्तावापत चार हजार ५९५ घरधुरीले रकम बुझिसकेका छन् ।

भरतपुर महानगरपालिका ४२९, रत्ननगर नगरपालिकामा ४५५, खैरहनी नगरपालिकामा ३८३, राप्ती नगरपालिकामा एक हजार ५०, कालिका नगरपालिकामा ४९४, माडी नगरपालिकामा २२ र इच्छाकामना गाउँपालिकामा एक हजार ७६२ घर निर्माण सम्पन्न भएका छन् । भूकम्पले सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा प्रभावित पारेको थियो । त्यहाँ दुई हजार ४६४ घर भत्किएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लाभग्राहीलाई तेस्रो किस्तावपत रकम लिइसक्नुपर्ने समयसीमा विसं २०७७ असार मसान्तसम्म तोकिएको छ । तर, बस्ती स्तान्तरण, सडक, दक्ष डकर्मीको अभाव र ऐलानी जग्गाका कारण पुनःनिर्माणको काममा केही अवरोध भएको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा १०१ बस्ती असुरक्षित रहेका छन् । त्यसमध्ये ६२ घरधुरीलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गराइएको छ ।

पहिचान भएका एक हजार १९८ भूमिहीन लाभग्राहीमध्ये ऐलानी जग्गामा बसोबास गर्ने एक हजार ११० लाई सोही स्थानमा घर बनाउने अनुमति दिइएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो । जग्गा व्यस्थापन गर्न बाँकी आठ लाभग्राहीलाई अन्यन्त्र घडेरी किन्न प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारीभयो ।

पुनःनिर्माण कार्यालयले सांस्कृतिक सम्पदामा क्षति पु¥याएका ३० सम्पदाको पुनःर्निर्माण गरेको छ । ५३ क्षतिमध्ये ३० सम्पदाको काम सम्पन्न गरेको हो । अहिले एक सम्पदाको पुनःनिर्माण भइरहेको छ । २२ वटा निर्माण गर्न बाँकी रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो । ५५ गुम्बाको पुनःनिर्माण गर्ने भनिए पनि अहिलेसम्म सम्झौता हुनसकेको छैन ।

भूकम्पले भत्किएका खुरखुरे–समिटारे–ठकुरीभञ्ज्याङ सडक र बकुलर–जुटपानी–सिद्धी सडकको ३३ किलोमिटर पुनःनिर्माण भइरहेको छ । त्यसअन्तर्गत खुरखुरेबाट ठकुरी भञ्ज्याङ सडकको ९८ प्रतिशत र बकुलरबाट सिद्धिसम्मको ६३ काम भएको जनाइएको छ ।

क्षति भएका १० स्वास्थयचौकीमध्ये एउटा मात्र पुनःनिर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)का इञ्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार छ भवनको पुनःनिर्माण जारी छ भने पुनःनिर्माण हुन तीन वटा बाँकी छ । पुनःनिर्माण भइरहेकामध्ये स्वास्थ्यचौकी भवन निर्माणका काम ५० प्रतिशत पुगेको छ ।

चार वर्षको अवधिमा ५२ विद्यालयको पुनःनिर्माण भएको छ । ३२० विद्यालय पुनःनिर्माण गर्नुपर्ने छ । त्यसमध्ये एक हजार २८० कक्षाकोठा निर्माण गर्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वन एकाइ (शिक्षा)का इञ्जिनीयर सरोज श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म १६१ कक्षाकोठा मात्र सम्पन्न भएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !