१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई भएको एपेन्डिसाइटिस के हो ?


ओलीलाई एपेन्डिसाइटिस

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति प्रधानमन्त्रीलाई पेट दुखेको थियो । उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया पनि भईसकेको छ । देशको कार्यकारी प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएपछी आम जनतामा यो एपेन्डिसाइटिस भनेको कस्तो रोग हो भन्ने जिज्ञासा बढेको हुनाले यस विषयमा हामीले प्रकाश पार्दैछौ ।

के हो एपेन्डिक्स ?

ठूलो आन्द्रासँग जोडिएर रहेको छोटो र पातलो थैलीलाई ‘एपेण्डिक्स’ भनिन्छ। जीव विज्ञान र चिकित्सा विज्ञानमा यसलाई Vestigial Organ को रुपमा मानिन्छ । जसको लम्बाइ २ देखि ३ इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ । यसको एकातिरको मुख बन्द हुन्छ र अर्कोतिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ । एपेन्डिसको काम के हो भन्ने निश्चित छैन ।कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् ।

कतिपय अनुसन्धानले पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन् । कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन् । एपेन्डिक्सको हाम्रो शरीरमा कुनै खास काम छैन । कसै-कसैले यसको महत्व शरीरको प्रतिरक्षा प्रणालीमा रहेको बताएपनि पुष्टी चाँहि गर्न सकेका छैन । सामान्य शल्यक्रिया गरेर एपेन्डिस काटेर फालिन्छ। आजकाल डाक्टरहरूले अरू नै कारणले बिरामीको पेटको शल्यक्रिया गर्नु परेका बेला पनि एपेन्डिस काटेर फाल्दिने गर्छन्।

के हो एपेन्डिसाइटिस ?

एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । सामान्य भाषामा भने यसलाई एपेन्डिक्स भयो भनिन्छ । एपेन्डिसाइटिस भएमा एपेन्डिक्समा सुनिन्छ । एपेन्डिसाइटिस एक प्रकारको मेडिकल इमर्जेन्सी हो । तत्कालै २४ घण्टाभित्रै शल्य उपचार गराएन भने एपेन्डिक्स फुटेर पेटमा फैलिने र बेहोश भएर मानिसको मृत्यु पनि हुनसक्छ ।

एपेन्डिसाइटिसका प्रकार

१. क्रोनिक एपेन्डिसाइटिस

यसको दुखाई लामो समयसम्म भइरहन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा असर गरेपछि यसको लक्षण देखापर्छ । एपेन्डिक्स संक्रमण भए विस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । बिरामीलाई उठ्न बस्न निकै समस्या हुन्छ । समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न सक्छ । बिरामीले समयमै उपचार पाएन भने मृत्युको नजिक पुग्न सक्छ ।

२. एक्युट एपेन्डिसाइटिस

यस्तो एपेन्डिसाइटिस क्रोनिक एपेन्डिसाइटिसजस्तो हुँदैन। यो केही समय वा केही दिनभित्र विकसित हुन्छ । एक्‍कासी पेट दुख्न थालेपछि कतिपय बिरामीले ग्याष्ट्रिक बढ्यो भनेर लापरवाही गर्छन् । त्यसैले सुरुमा यसको पहिचान गर्न अप्ठयारो हुन्छ । यदि एक्युट एपेन्डिसाइटिस भएमा तत्काल शल्यक्रियाको अवश्यकता पर्छ। एपेन्डिक्समा दिसा रोकिएमा वा जीवाणुको संक्रमण भएमा वा कुनै अन्य प्रकारको रोकावट भएमा यसले रोगको रुप लिन थाल्छ । यदि दुखाइ छिटो र सही नसक्ने गरी बढ्छ भने यसको संक्रमण पनि बढेको भन्ने बुझिन्छ । यस्तो अवस्थामा शल्यक्रियाको जरुरी पर्छ ।

एपेन्डिक्स हुनुको कारणहरु

कव्जियत , क्यान्सर लगायतका कारण जब एपेन्डिक्समा कुनै पनि किसिमको अवरोध खडा हुन्छ, त्यतिबेला एपेन्डिक्स दोब्बर भई पेट फुल्ने तथा पेटमा संक्रमण हुन थाल्छ । जसले गर्दा एपेन्डिक्समा सुन्निने गर्छ । कब्जियतका कारण पनि मानिसहरुलाई एपेन्डिक्सको समस्या हुने भएकोले चिकित्सकहरु फाइबरयुक्त खानेकुरा खाने सल्लाह दिने गर्छन् । एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पिप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसकारण एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ । दिनदिनै दिसा नगर्ने तथा रेसादार खानेकुरा नखाने मानिसहरूमा एपेन्डिसाइटिस हुने सम्भावना प्रबल हुन्छ।

एपेन्डिसाइटिसका लक्षणहरु

१. पेटको दुखाई

२. हल्का ज्वरो

३. वान्ता आउने

४. खान मन नलाग्नु

५.कब्जियत

६. पखाला

७. अनुहार रातो देखिने

८. वाकवाकी लाग्ने

सामान्य पेट दुखाई र एपेन्डिक्स बीचमा के फरक छ ?

सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ । यदी तपाईलाई केही समयको समयसम्म पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुदै गएको छ भने त्यो सामान्य पेट दुखाई हो । सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुदाँ पूरै पटमा समस्या हुन्छ ।

जबकी एपेन्डिसाइटिस भएमा दुखाई निश्चित हुन्छ । त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ । त्यसबाहेक, यदी तपाईलाई १२ घण्टा भन्दा बढी वाता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ । जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

एपेन्डिसाइटिसको जाँच

विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए-नभएको पत्ता लगाउन सकिन्छ । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स-रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् । विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । पिसाबको संक्रमण हुँदा पनि त्यस्तै लक्षण देखिने हुनाले नझुक्कियोस् भनेर लक्षण देखिनासाथ जँचाइ हाल्नुपर्छ ।

भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि खानुहुँदैन । बरु भिडियो एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्दछ । एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) गर्न सकिन्छ ।

एपेन्डेटोक्मी वा एपेन्डिसाइटिसको शल्यक्रिया (उपचार)

एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ किनभने एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।

नोट : एपेन्डिसाइटिस भए डाक्टरको परामर्श लिएर उपचार गरिहाल्नु होला ।

यो पनि पढनुहोस्

पिनास र यसको प्रभावकारी उपचार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !