१३ बैशाख २०८१, बिहिबार

तपाई पनि ‘एब्यूसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ?


प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि सम्बन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना हुन्छ । जब एक अर्काप्रति भरपूर प्रेम र आदर हुन्छ तब मानिस आफ्नो पार्टनरप्रति पूर्ण समर्पित हुन्छ । बदलिदैँ गएको समाजको रहनसहन र दैनिकीले आजभोलि हरेक सम्बन्धमा केही न केही समस्या पैदा हुन थालेका छन् । सामान्य भन्दा सामान्य कुरा हुने झै–झगडा र विवाद आजभोलि सामान्य नै भइसकेको छ तर तपाईको पार्टनर सधैँ त्यही कुरा गर्छ जसले तपाईको सम्बन्धमा मनमुटाब गराउँछ । यसलाई ‘इमोशनल अत्याचार’ पनि भन्ने गरिन्छ । भावनात्मक रुपमा चोट पुग्दापुग्दै कतिवेला त्यो सम्बन्ध ‘एब्यूसिव रिलेशनशिप’ मा बदलिसकेको हुन्छ कसैलाई थाहा नै हुँदैन ।

  • के हो ‘इमोशनल अत्याचार’ ?

शोषण वा अत्याचारको कुरा गर्दा धेरैको मनमा शारीरिक शोषण हो भन्ने धारणा पाइन्छ । तर शोषण भावनात्मक पनि हुन्छ । यदि कोहि मानिस तपाईले शब्दले वा रिसले तपाईलाई पीडा दिन्छ भने वा शब्दबाटै तपाईलाई नियन्त्रणमा राख्ने प्रयास गर्छ भने त्यसलाई ‘इमोशनल अत्याचार’ भनिन्छ । भावनात्मक शोषणले सम्बन्धलाई खोक्रो बनाइदिन्छ । त्यतिमात्र होइन यसले मानिसलाई भित्रभित्रै घुनले जस्तै खोक्रो र खाली बनाइदिन्छ । यस्तो भएको अवस्थामा आफ्नो पार्टनरसँग छलफल गरेर समयमानै समाधान खोज्न आवश्यक छ अन्यथा यस्तो सम्बन्धबाट बाहिर आउनुमा नै बुद्धिमानी हुने मनोविश्लषकहरु बताउँछन् ।

भावनात्मक शोषणका लक्षणहरु

  • आदररसम्मान नगर्नु

सम्बन्धमा जति जरुरी माया हुन्छ उति नै जरुरी सम्मान र एकअर्काप्रति आदर हुन्छ । यदि तपाई आफ्नो पार्टनरलाई पूर्ण रुपमा आदर गरिरहनुभएको छ तर बदलामा उसले तपाईलाई सम्मान गर्दैन भने त्यसले समन्धमा विस्तारै चिसोपना पैदा गर्छ । किनकी यस्तो कुरा विस्तारै बढ्दै जाँदा अन्य मानिसको अगाडि पनि तपाईलाई उसले अपशब्द प्रयोग गर्न सुरु गर्न सक्छ । जसले सम्बन्ध विग्रदैँ जान्छ ।

  • पटक–पटक बेवास्ता गर्नु

सम्बन्धमा दुवैको भावनाको कदर गर्नु जरुरी छ । यदि तपाईको पार्टनर कुनै पनि कुरा गर्नको लागि तपाईलाई बारम्बार दबाब दिन्छ भने तपाई इमोशनल शोषणको सिकार भइरहनुभएको छ । चाहे त्यो कुनै कपडा लगाउन वा नलगाउन, कसैसँग बोल्न वा नबोल्न होस् यसले सम्बन्धमा विस्तारै दुरी बढाउँछ ।

  • ‘इमोशनल ब्ल्याकमेल’ गर्नु

केटा होस् वा केटी जो कोहीले पनि सम्बन्धमा इमोशनल ब्ल्याकमेल गरेर आफ्नो पार्टनरलाई कुनै पनि काम गर्न बाध्य पार्नु पनि शोषण हो । तपाईलाई पार्टनरले बारम्बार भावनामा चोट पुग्ने गरी कुनै पनि गल्तीलाई लिएर ब्ल्याकमेल गरिरहेको छ भने त्यस्तो सम्बन्धबाट टाढिनु नै राम्रो हुन्छ ।

  • हरेक कुरामा होच्याउँनु

यदि तपाईको पार्टनरले तपाईलाई जाति, लिङ्ग, उमेर वा व्यक्तित्वलाई लिएर बारम्बार मजाक उडाउँछ भने त्यसलाई पनि भावनात्मक शोषणको रुपमा लिइन्छ । यदि अन्य तेस्रो मानिसको अगाडि पनि तपाईलाई होच्याउँछ भने सम्बन्धमा सुधार ल्याउँन जरुरी छ ।

  • ठूलो आवाजमा चिच्याउँनु

तपाईलाई तपाईको सम्बन्ध जति नै राम्रो लागेपनि यदि तपाईको पार्टनर तपाईसँग चिच्याएर कुरा गर्छ भने सम्झिनुस् तपाईप्रति तपाईको पार्टनरमा कत्ति पनि सम्मान छैन । यदि त्यस्तो भइरहेको छ भने तपाईले पार्टनरसँग बसेर छलफल गर्न जरुरी छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !