८ बैशाख २०८१, शनिबार

अस्पतालमा बिरामी शिशु वृद्धि


अस्पताल

चितवन, ३ असार । गर्मी बढेसँगै यहाँका अस्पताल बिरामी बच्चाले भरिएका छन् । उच्च तापक्रमसँगै सबैभन्दा बढी बच्चा बिरामी भएकाले उपचारका लागि आउने गरेको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च ज्वरो, रुघाखोकी, झाडापखाला, घाउ खटिरा, जण्डिसजस्ता समस्या लिएर बच्चा अस्पताल आउने गरेका छन् ।

बच्चाको जीउ र अनुहारमा दादुरा, ठेउला, पानीका फोका देखिने गरेको छ । डा. बसौलाले एउटै परिवारका छ जनासम्म बच्चा जण्डिसको समस्या लिएर आएको जानकारी दिनुभयो । दैनिक १००को हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गरेकामा दुई सातायता यो सङ्ख्या १५० नाघेको छ । शिशु वार्डमा रहेका ५०, बालसघन उपचार कक्षका १२, नवजात शिशु वार्डका १२का साथै श्यया भरिएर क्याबिनमा समेत बच्चा राखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसमेत रहनुभएका वरिष्ठ बालरोग विशेषज्ञ डा विश्वबन्धु बगालेले बिरामीको सङ्ख्या बढेको बताउँदै उक्त विभागमा विज्ञ चिकित्सक रहेकाले उच्च सतर्कता अपनाई अस्पताल आएका बिरामीको उपचार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले बच्चालाई गर्मीबाट बचाउन घाममा खेल्न नदिई शीतल ठाउँमा राख्न र पानीलगायत पेय पदार्थ खुवाउन तर बजारीया तयारी खाना, सडेगलेको खानेकुरा र पानीपुरी, चटपट र विषादी प्रयोग गरिएका फलफूल नखुवाउन सुझव दिनुभयो ।
सरकारी अस्पतालसँगै यहाँका दुई मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पतालमा पनि बिरामी बालबालिकाको सङ्ख्या बढेको छ ।

चितवन मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा शान्ति रेग्मीले दैनिक ९० को हाराहारीमा बच्चा बिरामी आउने गरेको र बालरोग विभागका १०० वटा श्यया भरिएको जानकारी दिनुभयो । उहाँले बच्चालाई खानपानमा विशेष ख्याल पु¥याउन आग्रह गर्नुभयो । जिल्लामा गर्मी बढेसँगै सोमबारबाट चार दिनका लागि यहाँका शिक्षण संस्था बन्द गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !