७ बैशाख २०८१, शुक्रबार

प्रदेश ५ मा १८५ औलो रोगी भेटिए


धम्बोझी, १७ जेठ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् ।

सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । ‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पु¥याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।

निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंद्वारा प्रस्तुत तथ्याङ्कमा प्रदेश नं ५ को बाँकेमा ५२ औलो रोगी रहेका छन् । औलो रोग नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औलो रोगीका सङ्ख्या घटे पनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको हो । सार्वजनिक तथ्याङ्कका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ ।

औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !