, गाँजा पिउने महिलाहरुमा अरुमा भन्दा दुई गुणा बढी यौन सन्तुष्टि

गाँजा पिउने महिलाहरुमा अरुमा भन्दा दुई गुणा बढी यौन सन्तुष्टि

अमेरिकामा हालसालै गरिएको एक अध्ययनले एकतिहाइ महिला यौन सम्पर्कभन्दा अगाडि गाँजाको प्रयोग गर्ने देखाएको छ । गाँजा पिएपछि यौन सम्पर्क राख्दा बढी सन्तुष्टि महसूस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले बताएका थिए । त्यस्तै, यौन सम्पर्कको बेला बढी लुब्रिकेशन (तरलता) को महसूस हुनुका साथै पीडा पनि कम भएको उनीहरुको भनाइ थियो ।

यौन सम्पर्कभन्दा अगाडि मारिजुआना अर्थात् गाँजा पिउने महिलाले गाँजाको प्रयोग नगर्ने महिलाको तुलनामा दुई गुणा अर्गाजम (यौनसन्तुष्टि) प्राप्त गरेको बताएको भन्दै सेक्सुअल मेडिसिन नामक पत्रिकाले अध्ययन प्रतिवेदन प्रकाशित गरेको हो । अध्ययनमा संलग्न अनुसन्धाताका अनुसार अमेरिकामा हाल वयस्कहरुबीच गाँजा प्रयोग निकै बढेको छ । अमेरिकाका कतिपय राज्यले औषधि तथा रमाइलोका लागि गाँजा प्रयोगमा कानूनी रूपमा नै छूट दिएकाले यसको प्रयोग बढेको हो । अमेरिकाको सेन्ट लुइसस्थित एकेडेमिक सेन्टरको एब्स्टेट्रिक्स र गाइनोकोलोजी विभागमा ३७३ महिलामा यो सर्वेक्षण गरिएको हो । सर्वेक्षणमा १२७ जना अर्थात् ३४ प्रतिशत महिलाले यौन सम्पर्क सुरु गर्नुभन्दा अगाडि गाँजा पिउने गरेको स्वीकार गरेका थिए ।

अनुसन्धाताका अनुसार गाँजाले यौन स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा निकै कम अध्ययन भएका छन् । गाँजाले मस्तिष्कमा रहेको यान्नाबिनोइड रिसेप्टरमा असर पुर्याउँछ जुन यौनिक अवयवसँग सम्बन्धित छ । यो अध्ययनमा विशेषतः महिलाको यौनजीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौनसम्पर्कको बेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गर्ने कोसिस गरिएको अनुसन्धाताको भनाइ छ ।

अध्ययनमा संलग्न ५२ प्रतिशत महिलाले गाँजाको प्रयोग गरेकै थिएनन् भने १३ प्रतिशतले गाँजा सेवन गर्ने गरे पनि यौनसम्पर्कभन्दा अघि भने प्रयोग नगरेको बताएका थिए । यो अध्ययन सीमित व्यक्तिमा मात्रै भएको हुनाले यसले यौन स्वास्थ्यमा गाँजाले केकस्तो असर पार्छ भन्ने निश्चित गर्दैन । तथापि, अध्ययनले यौन स्वास्थ्यका लागि गाँजाको प्रयोग उपयुक्त छ कि छैन, छ भने केकसरी प्रयोग गर्न सकिन्छ भनी अध्ययनको अन्य मार्ग भने प्रशस्त गरेको छ । एजेन्सीको सहयोगमा