६ बैशाख २०८१, बिहिबार

चितवनका सरकारी अस्पतालका बहिरङ्ग सेवा सञ्चालन


अस्पताल

१८ माघ, भरतपुर । नेपाल चिकित्सक सङ्घले आजदेखि देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपनि चितवनका अस्पतालमा सबै सेवा सञ्चालनमा आएको छ ।

भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गरिएको छ भने चिकित्सकले बिरामी जाँच गरेका छन् । भरतपुर र क्यान्सर अस्पतालमा बिरामीलाई प्रदान गरिने जुनसुकै सेवा नरोक्न अस्पताल प्रशासनले चिकित्सकलाई निर्देशन दिएको छ ।

भरतपुर अस्पतालमा दर्जन बढी चिकित्सकले बहिरङ्ग सेवाका बिरामीको जाँच गरेका छन् । अधिकांश चिकित्सक भने ओपिडीमा बिरामी जाँच गर्न आएका छैनन् । चिकित्सक नआएका वार्डका बिरामीलाई आकस्मिक कक्षबाट पनि उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पताल सञ्चालन समितिका अध्यक्ष खिमलाल भण्डारीले अस्पतालको सेवा बन्द नगर्न चिकित्सकलाई निर्देशन दिइएको भन्दै उपचार गर्न नआउने चिकित्सकलाई स्पष्टीकरण सोधिने बताउनुभयो । “अस्पतालमा हड्ताल निषेध छ”, उहाँले भन्नुभयो, “त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारवाही गर्र्छाैं ।”

भरतपुर अस्पतालमा बिरामीको उपचारमा गरिरहनुभएका मेडिसिन विभागका डा सुनिल पण्डितले आफ्नो नियमित कार्यअनुसार नै बिरामीको परीक्षण गरिरहको बताउनुभयो । उहाँले अस्पतालले बिरामीको उपचार नरोक्नु भनेका कारण बिरामीको जाँच गरिरहेको जानकारी दिनुभयो ।

चिकित्सक सङ्घ चितवनका अध्यक्ष प्रकाश खतिवडाले चितवनका सबै अस्पताल आउने बिरामीलाई उपचार गरिरहेको बताउनुभयो । चिकित्सकले नियमित जाँच गरेको दाबी गर्दै उहाँले बहिरङ्ग सेवामा नआएका चिकित्सकलाई पनि आउनका लागि आग्रह गरिएको बताउनुभयो । “चिकित्सक सङ्घको आह्वानमा गरिएको एकदिने बन्द हो”, खतिवडाले भन्नुभयो, “एक दिनको सूचना भएकाले बिरामीलाई थाहा नहुन सक्छ, त्यसैले बिरामीको नियमित उपचार गरिरहेका छौँ ।”

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले बहिरङ्ग सेवाको टिकट काटेर सेवा प्रवाहलाई निरन्तरता दिएको बताउनुभयो । “केही चिकित्सकले मात्र बिरामी जाँच्नुभएको छ”, आचार्यले भन्नुभयो, “अस्पतालका तर्फबाट बिरामीलाई असहज हुने वातावरण बन्न दिएका छैनौँ ।”

अस्पतालको बहिरङ्ग सेवामा चिकित्सक नभेटेपछि कतिपय बिरामी आक्रोशित बनेका थिए । उनीहरुले बिरामीको उपचारमा नआएर चिकित्सकले गम्भीर लापरवाही गरेको बताए । अस्पतालको बहिरङ्ग सेवामा डाक्टरको पर्खाइमा रहनुभएकी पटिहानीकी वसुन्धरा लामिछाने बिरामीलाई उपचार नगरेर डाक्टरले गम्भीर लापरवाही गरेको बताउनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !