८ बैशाख २०८१, शनिबार

बालिकाको कलेजो प्रत्यारोपणका लागि सहयोगको आग्रह


Nepalpatra

१६ माघ, गलेश्वर । कलेजोमा समस्या देखिएपछि भारतको एक अस्पतालमा भर्ना गरिएकी म्याग्दीकी एक नौ महीने बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका जामबहादुर र रेश्मा रन्तिजा मगरकी नौ महीने छोरी सियानाको कलेजो प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भएको उनको परिवारले बताएपछि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग सङ्कलन अभियान शुरु गरेको छ ।

देश विदेशमा रहेका हिस्तानवासीले सियानाको उपचारका लागि रु ३० लाख जुटाएका भए पनि उनको उपचारका लागि अझै रु १५ लाख आवश्यक पर्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएपछि ओमकुमारी शान्ति कोषले सहयोग अभियान सञ्चालन गरेको हो ।

ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नौ महीने बालिकालाई बचाउन सक्दो सहयोग गर्न देश विदेशमा रहेका म्याग्देलीसँग अनुरोध गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहेका हिस्तानवासीबाट प्राप्त भएको रु ३० लाखमध्ये हालसम्म रु १२ लाख खर्च भइसकेको सियानाकी आमा रेश्माले बताउनुभयो । “प्राप्त सहयोगमध्ये रु १८ लाख बाँकी छ । कलेजो प्रत्यारोपणका लागि थप रु १५ लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ”, रेश्माले भन्नुभयो, “थप सहयोग जुटेमा छोरीको कलेजो प्रत्यारोपण गर्न सकिन्थ्यो ।” सियानाको विगत पाँच महीनादेखि कलेजो र पित्तथैलीमा समस्या देखिएको आमा रेश्माले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !