१३ बैशाख २०८१, बिहिबार

प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव


अस्पताल

७ माघ, लमही । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ ।

सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताउनुभयो ।

आफूसहित डा. जनार्दन पन्थी, डा. विनोद सिंह, . मीनचन्द्र अधिकारी, डा. पदमराज अधिकारी, डा. प्रशङ्सा सिंह मात्रै रहेको उहाँको भनाइ छ । यीबाहेक १० विशेषज्ञको दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँले बताउनुभयो । राष्ट्रियसभा सदस्य कोमल वलीले आइतबार उक्त अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका समस्या सुनाउँदै उहाँले यस्तो जानकारी दिनुभयो ।

मानसिक रोग, छाला, नाक कान, बेहोस बनाउने, बलरोग तथा हड्डीसम्बन्धी विशेषज्ञ मात्रै रहे पनि अन्य विशेषज्ञ चिकित्सकको अभाव रहेको उहाँको भनाइ थियो ।

अस्पतालमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ ।
अहिले १८ नर्सको दरबन्दी रहे पनि २४ नर्स हुनुहुन्छ, तर पनि त्यतिले मात्रै पनि नपुग्ने उहाँको भनाइ छ । उहाँका अनुसार अहिले दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् । अस्पताललाई व्यवस्थित तरिकाले अगाडि बढाउने योजना रहेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा राष्ट्रियसभा सदस्य वलीले दाङसहित, सल्यान, रोल्पा, रुकुम, बाँके, बर्दियालगायतबाट बिरामी आउने भएकाले यस अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डा. उपलब्ध गराउन मन्त्रालयमा प्रस्ताव राख्ने र राष्ट्रियसभामा पनि आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !