८ बैशाख २०८१, शनिबार

दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता


khulladisha

२ पुस, काभ्रेपलाञ्चोक । आठ स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । पनौती नगरपालिका, नमोबुद्ध नपा, बनेपा नपा, धुलिखेल नपा, पाँचखाल नपा तथा बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकाका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेका छन् ।

जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, १३ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, विषयगत कार्यालयका प्रमुख तथा सरोकारावालासँग भएको बैठकले स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न यही पुस ५ गते समयसीमा दिएको छ ।

पनौती नपाप्रमुख भीम न्यौपानेले निर्धारित समयसीमाभित्र आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने अन्तिम तयारीमा जुटिरहेको बताउनुभयो । बैठकमा स्थानीय तहका प्रमुखले पुस ५ गतेभित्र आफ्नो गाउँपालिका तथा नपालाई खुला दिशामुक्त घोषणा गरिसक्ने प्रतिबद्धता जनाएपछि यही पुस ९ गते जिल्लालाई नै खुला दिशामुक्त घोषणा गर्ने तयारी अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिनुभयो ।

हालसम्म मण्डनदेउपुर नपा तथा चौरीदेउराली, भुम्लु, तेमाल र रोशी गाउँपालिकालाई पूर्णरूपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । जसमध्ये जिल्लाका १३ स्थानीय तहका १३५ वडामध्ये ८५ वडा पूर्णरूपमा खुला दिशामुक्त घोषणा भएका छन् ।

यसअघि सन् २०१७ भित्र जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिइए पनि विनासकारी भूकम्पका कारण निर्माण भएका शौचालयमा समेत क्षति पुगेपछि घोषणा गर्न सकिएको थिएन । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !