१३ बैशाख २०८१, बिहिबार

स्वास्थ्यचौकीमा एउटा मात्र औषधि


स्वास्थ्यचौकी

२३ मङ्सिर, हुम्ला । जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए ।

गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका–२ का अध्यक्ष विशे महताराले बताए । ‘बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन नगरेकाले औषधिको अभाव भएको छ’, स्वास्थ्य प्रमुख बमले भने ।

स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ । स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताए । स्वास्थ्यचौकीमा औषधी नहुँदा गाउँपालिका–२ का स्थानीयवासी प्रत्यक्ष मारमा परेका छन् ।

महिलालाई उधारो प्रसूति भत्ता

यसैबीच गाउँपालिकालाई केन्द्रबाट प्राप्त हुने सःशर्ततर्फको वार्षिक विनियोजित बजेट प्राप्त नहुँदा यहाँका महिलाहरू उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य भएका छन् । नियमानुसार हिमाली क्षेत्रमा महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि एक हजार पाँच सय रुपैयाँ प्रसूति भत्ता पाउने व्यवस्था छ । सरकारले भत्ताको व्यवस्था गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको सङ्ख्या निक्कै बढेको छ ।

केन्द्रले अनुमानका आधारमा बजेट विनियोजन गरेर पठाउँदा अनुमान गरेको भन्दा पनि बढी महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो । सरकारले उपलब्ध गराउने प्रसूति भत्ता बच्चा जन्मेको ६ महिना पुग्दा पनि नपाएको गाउँपालिका–१ की लालशोभा बुढाले बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा धेरै महिलाहरू प्रसूति भत्ता पाउनबाट बञ्चित भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । सो अवधिमा गाउँपालिकाका पाँच वटै बर्थिङ सेन्टरमा एकसय ८० बच्चा जन्माएकोमा एकसय जनाले मात्र सो भत्ता पाएको र बाँकी उधारो राखेको संयोजक धामीले बताए ।

केन्द्रबाट प्रसूति भत्ताका लागि दुई लाख पचास हजार बजेट आएको तर बर्थिङ सेन्टरमा बच्चा जन्माउने सङ्ख्या बढी भएकाले भत्ता नपुगेको उनले बताए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !