१३ बैशाख २०८१, बिहिबार

महोत्तरी कारागारमा बिरामी ह्वात्तै बढे


Mahottari

१६ मङ्सिर, बर्दिवास । “कि करु हजुर..! जान आब पहाड भगेल(के गरौँ हजुर, आफ्नो ज्यान नै पहाड भयो)”, महोत्तरी जिल्लाको जलेश्वरस्थित कारागारमा कैदी जीवन बिताइरहेका ८० वर्षीय मटर साफीले जाडोमा लगलग काम्दै भने । बूढो उमेरमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका साफी जाडो बढ्दै गएसँगै न्यानो लुगा र उचित खानपिन नहुँदा श्वासप्रश्वास(दम)को समस्याले पीडित छन् ।

“घर स कोइ घुइम आबबाला नई, अइठाम कपडा कहिया भेटत ठेकान नइ (घरबाट कोइ फर्केर आउँदैनन्, यहाँ (कारागार) लुगा कहिले पाइने हो ठेगान छैन)”, पातलो धोतीको आधा भागले कम्मर लपेट्दै लाज ढाकेर आधा भाग धोतीले जिउको माथिल्लो भाग ढाकेका साफीले भने, “नई बुझाइय जे उपरवालाके कि मर्जी अई (थाहा छैन, ईश्वर मलाइ के गराउन लागेका छन् ) ।”

कारागारका कर्तव्य ज्यान मुद्दाका अर्का कैदी ७० वर्षीय रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ । साफी र मुखियामात्र नभएर जाडो बढेसँगै कारागारमा कैदी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । कारागारमा दम, रुघाखोकी, ज्वरो, निमोनियाँ र लुतोलगायतका रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

वर्षको दुईपटक मौसमअनुसारको कपडा र जाडोमा कम्बल दिने चलन भएपनि ठिक समयमा सामग्री नपाउँदा बढ्दो जाडोमा घरबाट उपेक्षित कैदीको बिजोग नै भएको छ । “कतिको घरबाट कपडा आउँछन् र कसैगरी जाडो धानिन्छ”, पुरुषकक्षका चौकीदार श्रीनारायण महतोले भन्नुभयो, “घर परिवारले वास्ता नगरेका कैदीको चाहिँ हरिबिजोग नै छ ।”

कारागारमा थेग्न नसक्ने कैदी न्यायिक निकायले पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन गाह्रो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुर बताउनुहुन्छ । जम्मा १३५ जना कैदी राख्नसक्ने क्षमताको कारागारमा अहिले झण्डै चौबर सङ्ख्याका भएपछि बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ । समयमा लुगा र कम्बल कारागार व्यवस्था विभागले नपठाउँदा वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।

कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिलाकक्षमा एक आश्रित बालिकासहित ४६ र पुरुषकक्षमा ४५० सहित जम्मा ४९६ जना कैदी छन् । २०४२ र २०४६ साल र २०६२/०६३ को ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिले कैदीको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदी अभिलेखले देखाएको छ ।

कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाप गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै गाह्रो भइरहेको कैदीहरूको गुनासो छ । महिलाकक्षका ४६ कैदीका लागि एक/एक वटा धारा र शौचालय मात्र छ । त्यसैगरी पुरुषकक्षका ४५० जनामा उपयोगमा चार/चारवटा धारा र शौचालयमात्र हुँदा दिसापिसाव घण्टौँ पालो कुर्नु पर्ने समस्याले नै बिरामी बढ्ने पुरुषकक्षका एक पाका कैदीले गुनासो गरे । नियमित सरसफाइ गर्न नपाएर नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्नु र सुत्नु पर्दा धेरैलाई लुतो भएको पुरुषकक्षका एक कैदीले बताए । पछिल्लो पटक जाडो बढेसँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आपूmहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुषकक्षका अर्का एक कैदीले टिप्पणी गरे । कारागार प्रमुख ठाकुरले पनि कैदीको गुनासो स्वीकार गर्नुभयो । “कारागारमा दिनहुँ कैदी पठाइन्छन् तर थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च आउँदैन, घानमा म पर्छु ।”

“के गर्नु हजुर…! नुहाउन नपा’को कति दिन भइसक्यो” पुरुषकक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुङ्गी उचालेर घाउ/खटिरा देखाउँदै भने, “आफैँले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने’भो ।”

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिएपनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ । खासगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदीको सङ्ख्या निकै बढेकाले कारागारको आन्तरिक व्यवस्थापन पनि अस्तव्यस्त हुने गरेको हो । कारागारमा अहिले रहेका ४९६ कैदीमध्ये ६० प्रतिशत पूर्पक्ष थुनुवा रहेको कारागार प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

संवत् १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएको यो कारागार त्यसयता उचित मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेण्टको टुक्रा दिनहुँ उप्केर झर्ने क्रम जारी छ । आपूm कानुनी परिबन्दले थुनिनु परेको गुनासो गर्ने गरेका एक थुनुवाले विरक्तिँदै भने, “अरु त अरु…यहीँ किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले रातदिन सताउँछ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !