१३ बैशाख २०८१, बिहिबार

खोरेत रोगको प्रकोप


Nepalpatra

१९ कात्तिक, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडामा पशुमा देखिने खोरेत रोगको प्रकोप देखिएको छ ।

वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा पशुमा खोरेत रोग देखा परेको डिलाशैनी गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक धर्मानन्द जोशीले जानकारी दिनुभयो । ती ठाउँमा करीब १५० गाईभँैसी तथा बाख्रामा खोरेत रोग देखा परेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न वडामा खोरेत रोगको प्रकोप देखिएपछि रिङ भ्याक्सिनेसनको काम शुरु गरिएको जोशीले जानकारी दिनुभयो । खोरेत रोगले महामारीको रुप लिएपछि अन्य ठाउँमा सर्न नपाओस् भन्नका लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सहयोगमा भ्याक्सिनेसन शुरु गरिएको हो । खोरेत रोगबाट पशु प्रभावित भएपछि किसान चिन्तित बनेका छन् ।

भाइरसका कारण पशुमा देखिने यो रोगले पशुको खुट्टा पाक्नेलगायतका लक्षण देखा पर्ने गरेका छन् ।
यो सरुवा रोग भएकाले अन्यत्र ठाउँबाट सरेको हुन सक्ने पशु प्राविधिकले बताएका छन् । खोरेत रोग लागेको पशुलाई निरोगी पशुको संसर्गबाट टाढा राख्नुपर्ने अन्यथा रोग बढी फैलिने खतरा हुने प्राविधिकले बताएका छन् ।

खोरेत रोग भाइरस(विषाणु)बाट लाग्ने सङ्क्रामक रोग हो । यो रोग खुरफाटा अथवा ओग्र्याउने पशुलाई मात्र लाग्दछ । खाना नखाने, ज्वरो धेरै आउने, मुख र खोर फाटेको ठाउँमा फोका आउँछन्, फोका फुटेर घाउ हुने गर्दछ । रोगी पशुले ¥याल काड्ने, खोच्याउने, हिँडडुल गर्न नसक्ने, ब्याउने पशु तुहिन सक्छ, दुधालु थाक्ने तथा उत्पादन घट्छ तथा साना बाच्छाबाच्छी मर्न सक्छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !