११ बैशाख २०८१, मंगलबार

घुम्ती शिविरबाट पाँच सय लाभान्वित


Myagdi

१८ कात्तिक, म्याग्दी । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५०० जना सर्वसाधारण लाभान्वित भएका छन् ।

भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर सार्वजनिक सेवा लिनबाट बञ्चित भएका गुर्जावासीलाई लक्षित गरेर धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा ५०० जनाले जग्गाधनी पुर्जा, नागरिकता, नापीको कित्ताकाट र नक्सा देखाउने, स्वास्थ्य उपचार र अपाङ्गता परिचयपत्रका लागि सिफारिश सेवा लिएका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ८६ जनालाई नागरिकता वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार नापी कार्यालयको टोलीले १५० जनालाई जग्गाको कित्ताकाट र नक्सा पहिचान गरेर देखाउने सेवा दिएको छ ।

४० जनालाई जग्गाको नामसारी र अंशबण्डासम्बन्धी सेवा दिइएको शिविरमा उपस्थित मालपोत अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । उहाँका अनुसार २५ नामसारी र ३० संशोधनसम्बन्धी सेवा दिइएको छ ।

बेनी अस्पतालका चिकित्सक बिराट शर्माको टोलीले १५० जनालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा दिएको थियो । महिला तथा बालबालिका कार्यालयको टोलीले नौ जनालाई अपाङ्गता परिचयपत्र वितरणका लागि सिफारिश गरेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !