६ बैशाख २०८१, बिहिबार

गर्भवतीलाई स्वास्थ्य संस्था पु¥याउने स्वयंसेविकालाई भत्ता


गर्भवती

२६ असोज, ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न विधि अपनाएका छन् । सुनकोशी गाउँपालिकाले स्वास्थ्यसंस्थामा बच्चा जन्माउनेलाई नगद एक हजार दिन थालेको छ भने सोही गाउँपालिकाको ९ नं वडा कार्यालयले शिशुलाई ब्लाङ्केट दिन थालेको छ । चम्पादेवीका केही वडामा आमालाई फरिया दिन थालिएको छ ।

मोलुङ गाउँपालिकामा भने स्वास्थ्य संस्थामा गर्भवती पु¥याउने स्वयंसेविकालाई भत्ता दिन थालिएको छ । गाउँपालिकाको वडा नं १ कुन्तादेवी र वडा नं ८ राँगादिपमा यो अभियान थालिएको हो । राँगादिपका स्वयंसेविकाले प्रतिगर्भवती बराबर रु ५०० र कुन्तादेवीकाले रु २५० पाउने भएका छन् । सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाएर मातृशिशुको मृत्यु हुन नदिन स्वयंसेविका परिचालन गरिएको मोलुङ–८ का वडा अध्यक्ष हरिकुमार राईले बताउनुभयो ।

“गाउँमा स्वयंसेविकाको भूमिका निकै प्रभावकारी छ । एक जना गर्भवती स्वास्थ्य संस्थामा ल्याएबापत उहाँहरुलाई प्रोत्साहनस्वरुप हामी रु ५०० दिन्छौँ ।” प्रसूतिगृहमा मात्रै सुत्केरी गराउने दर बढाउने उद्देश्यले स्वयंसेविका भत्ता अभियान थालेको कुन्तादेवीका वडा अध्यक्ष प्रदीप बानियाँको भनाइ छ । स्वास्थ्य संस्था प्रमुख र दुई जना अनमीलाई गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षण तथा पुनःजाचका लागि प्रत्येक महीना रु १०० को रिचार्ज कार्ड सुविधा दिइने उहाँले बताउनुभयो ।

राँगादिप र कुन्तादेवीका प्रसूति गृहमा प्रतिक्षालय व्यवस्था गरी एक जना कुरुवासहित गर्भवति र सुत्केरीका लागि खाना र बासकोसमेत व्यवस्था गरिएको छ । यदि गाउँको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर अन्यन्त्र पठाउनुपर्दा वडा कार्यालयले नै सबै सवारी खर्च व्यहोर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोगसँगै आवश्यक औषधि, औजार, कर्मचारी व्यवस्थापन र तालीम लगायतका सहयोग उपलब्ध गराउने भएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख सुवेदीले भन्नुभयो, “स्थानीय सरकारलाई आवश्यक सुझाव दिने र सहकार्य गर्ने हाम्रो नीति छ । दुर्गम जिल्ला ओखलढुङ्गाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन सक्नु अहिलेको पहिलो आवश्यकता हो ।” सुरक्षित मातृत्व, पोषण र स्वास्थ्य सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिइएकोे सुवेदीले बताउनुभयो ।
कुन्तादेवी र राँगादिपमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । नियमितरुपमा स्वास्थ्यकर्मीले विद्यालयमा गएर कक्षा लिनेछन् । प्रत्येक वडामा गर्भवती महिलालाई प्रसूतिका लागि स्वास्थ्य संस्थामा पठाउन समितिसमेत गठन गरिएको छ ।

घरैमा सुत्केरी गराउनेक्रम रोक्ने विषयमा जनप्रतिनिधि, व्यवस्थापन समिति, स्वयंसेविका आमा समूह, महिला सञ्जाल र स्वास्थ्यकर्मीको छलफलबाट आएको सुझावका आधारमा यो निर्णय गरेर लागू गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताउनुभयो । यो अभियान पालिकाका अन्य वडामा पनि सञ्चालन हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !