११ बैशाख २०८१, मंगलबार

स्वस्थकर जीवनको लागि अपनाउनुपर्ने टिप्सहरु


healthy

स्वास्थ्य जीवनको धन हो तर यो कुरा थाहा हुँदा हुँदै पनि जीवनको खासै ख्याल गरिरहेको हुँदैन सबैको जीवन धेरै व्यस्त छ । त्यसैले पनि राम्रोसँग आफ्नो स्वास्थ्यको ख्याल गर्न पाइरहेको हुँदैन । रोजगारी, पैसा र भविष्यको पछि भाग्दाभाग्दै धेरै मानिसलाई आफ्नै शरीरको ख्याल राख्ने फुर्सद छैन । एक हिसाबले जीवन यान्त्रिक बनेको छ । तर, रोजगारी र पैसाभन्दा ठूलो कुरा स्वास्थ्य नै हो । स्वास्थ्य नै ठीक छैन भने अरू कुरा ठीक भएर कुनै अर्थ नहुने डाक्टरहरू बताउँछन् । डाक्टरका अनुसार स्वस्थ जीवन भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । स्वस्थ रहनका लागि यी कुरामा आवश्यक छन् ।

सन्तुलित आहार
सकेसम्म सन्तुलित आहार खानुपर्छ । चिल्लो, गुलियो र नुनिलो कम खानुपर्छ । पौष्टिक तत्वयुक्त, रेसादार खानेकुरा, फलफूल, हरियो तरकारी, सलाद, माछा, मासु, अन्डा नियमित रूपमा खार्नुपर्छ ।

नियमित व्यायाम
नियमित व्यायाम स्वस्थ जीवनका लागि अत्यावश्यक छ । व्यायामले पूरै शरीर चलायमान हुन्छ । सबै अंगमा ऊर्जा पुग्छ । हरेक दिन बिहान आधा घन्टा मर्निङवाक वा व्यायाम वा योग आफ्नो सुविधाअनुसार गर्नुपर्छ ।

पर्याप्त निद्रा
सही खानपान र नियमित व्यायामजत्तिकै महत्वपूर्ण अर्को पाटो हो पर्याप्त निद्रा । स्वस्थ्य रहन पर्याप्त सुत्नुपर्छ । राति सुतेजस्तो राम्रो अरू वेला सुतेको हुँदैन । न्यूनतम ७ देखि ८ घन्टासम्म सुत्नुपर्छ । ८ घन्टाको सुताइले १६ घन्टासम्म शरीर फुर्तिलो र स्वस्थ रहन्छ ।

धूमपान र मद्यपान त्याग
धूमपान र मद्यपानले स्वास्थ्यलाई फाइदा गर्दैन । बरु लामो समय धूमपान र मद्यपान गर्नाले मुटुरोग र फेक्सोको क्यान्सरसमेत गराउछ । तनाव भयो भनेर चुरोट र रक्सीको लतमा फस्नु राम्रो होइन । यसले कतिपय अवस्थामा पारिवारिक र सामाजिक समस्या पनि निम्त्याउने गर्छ ।

पर्याप्त पानी
स्वस्थ रहन पर्याप्त पानी पिउनुपर्छ । २४ घन्टामा कम्तीमा ३ लिटर पानी पिउनैपर्छ । गर्मीको समयमा पसिना जाने र डिहाइड्रट हुने भएकाले अझ धेरै पानी पिउनुपर्छ । पानी कम भए शरीरका क्लिनिकल चिजहरू असन्तुलित हुन्छन् । टाउको दुख्ने र रिँगटा लाग्ने समस्या हुन्छ ।

सकारात्मक सोच
स्वस्थ्य रहन मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । हिजो आज धेरै व्यक्ति विभिन्न तनाव बोकेर हिँड्छन् । स–साना कुराले पनि तनावमा आउँछन् । कुनै पनि कुरालाई नकारात्मक रूपमा लिनु तनाव निम्तिने कारण हो । डिप्रेसनमा जाने र आत्महत्या गर्नेसम्मको सोच आउन सक्छ । तनाव भयो भनेर श्रीमतीसँग झगडा गर्ने, बच्च पिट्ने गर्नुहुँदैन । हरेक कुरालाई सकारात्मक रूपमा लिँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

सामाजिक सक्रियता
सामाजिक स्वास्थ्य पनि स्वस्थ जीवनको महत्वपूर्ण पाटो हो । सामाजिक स्वास्थ्यका लागि सामाजिक कर्महरूमा सरिक हुनुपर्छ । पत्रपत्रिका र पुस्तक पढ्ने, समाचार हेर्ने, परिवारसँग बसेर घुम्ने तथा रमाइलो गर्ने, आफन्त र साथीभाइसँग भेटघाट गर्दा सामाजिक रूपमा स्वस्थ भइन्छ ।

आध्यात्मिक स्वास्थ्य
२४ घन्टामा एकपटक १०–१५ मिनट भगवान्को आराधना गर्नु, ध्यान गर्नु, प्रार्थना गर्नु, भजन सुन्नुपर्छ । यस्ता आध्यात्मिक कर्मले पनि स्वस्थ बनाउँछ । तनाव कम हुन्छ  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !