१३ बैशाख २०८१, बिहिबार

कास्कीका गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप


लम्पी स्किन

लेखनाथ । कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।

गाईवस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको छ । एक हप्ताअघि प्रभावित क्षेत्र पोखरा–३२ को लेखनाथ र ३३ को बागमाराका १६ गाई फार्मका दुई सय ५२ गाईमा लम्पी स्किन रोगको सङ्क्रमण देखिनुका साथै सङ्क्रमणका कारण चार गाईको मृत्यु भइसकेको रेग्मीले बताए ।

गाउँपालिकाको तुलनामा पोखरा महानगपालिकामा यो रोगको प्रकोप बढी मात्रामा देखिएको छ । यो रोगको सङ्क्रमण केही मात्रामा कास्कीको रुपा, मादी र माछापुच्छ्रे गाउँपालिकामा पनि देखिएको छ । कास्कीका विभिन्न भेगमा दुई हजारभन्दा बढी चौपायामा यो रोगको प्रकोप देखिएको छ ।

लम्पी स्किन रोगेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुच्ने र दूध कम दिने लक्षण देखिन्छ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्छ”, चिकित्सक रेग्मीले भन्नुभयो, “नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ सङ्क्रमण बढेपछि पशुचौपाया मर्छन् ।”

‘क्याप्री पक्स’ नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने चलन छ । रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काँढ्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्छ । लम्पी स्किन रोगको सङ्क्रमण भैँसीको तुलनामा गाईमा बढी देखिने रेग्मीको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत एवम् सूचना अधिकारी सहदेव पौडेलका अनुसार लम्पी स्किन रोगका कारण दुहुना पशुको दूध उत्पादनमा ह्रास आउँछ । यस रोगको सङ्क्रमण भएमा दूध उत्पादन ८० प्रतिशतसम्म घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुमा यो रोगको सङ्क्रमण देखिए पनि मानिसले दूध सेवन गर्दा कुनै असर नगर्ने उनी बताउछन् ।

पशु चिकित्सक अनन्त कोइरालाले लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले सङ्क्रमित पशुको दूध सेवन गर्न सकिने बताए । यो रोग केवल गाईभैँसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ ।

अन्य वस्तुमा सङ्क्रमण हुन नदिनकै लागि यो रोग लागेका पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राखिने गरिन्छ । रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न किसानले माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !