८ बैशाख २०८१, शनिबार

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौँ : स्वास्थ्यमन्त्री गिरी


पदल गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताए ।

“स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सरकारमा सहभागी भएका छौँ,” उनले भने, “स्वास्थ्य क्षेत्रमा धेरै विसङ्गति र विकृति छन् । त्यसलाई हटाउन हामी डटेर लाग्छौं । स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गरेर परिवर्तन गरिने छ ।”

मन्त्री गिरीले स्वास्थ्य पत्रकारलाई स्वास्थ्य क्षेत्रका विसङ्गति र विकृतिविरुद्ध कलम चलाउनसमेत आग्रह गरे । गुणस्तरीय स्वास्थ्य सेवाका लागि मन्त्रालयल लागि परेको उहाँले उल्लेख गरे ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवा जनतामाझ पुर्याउनका लागि लागिपरेको बताए । यस्तै सांसद निशा डाँगीले जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनुपर्ने उल्लेख गरे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विभागले जनतालाई कसरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जनातको स्वास्थ्यबारे खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा प्रभावकारीरुपमा कार्यान्वयन गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याइरहेको बताए । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारको दक्षता अभिवृद्धिमा जोड दिएका थिए ।

सो अवसरमा मञ्चका सदस्यसमेत रहेकी निशा डाँगी सांसदमा निर्वाचित भएकामा बधाइ ज्ञापन गरिएको थियो भने मञ्चका सदस्य भगवती तिमिल्सेनालाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !