६ बैशाख २०८१, बिहिबार

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : स्वास्थ्यमन्त्री खापुङ


भवानीप्रसाद खापुङ फाइल फोटो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज आयोजित कार्यक्रममा उनले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताए ।

सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई रु एक लाखका दरले वितरण गर्दै आएको उनले बताए । उनले भने, “तीनै तहका सरकार मानव स्वास्थ्य उपचारका लागि संवेदनशील छन् ।”

स्वास्थ्य बीमामा सबैलाई आबद्ध गराउने गरी काम भइरहेको भन्दै उनले अस्पतालको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि आफूहरु तातो लगाइरहेको बताए । सरकार क्यान्सर पत्ता लगाउने पेट स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा रहेको भन्दै मन्त्री खापुङले भने, “सबैभन्दा धेरै जनताले सेवा पाउने अस्पतालमा पेट स्क्यान मेसिन राख्ने हो ।” यो क्यान्सर अस्पताल देशकै महत्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनुपर्ने बताए । उनले भने, “छाता ऐन बनाएर प्रतिष्ठान बनाउनुपर्छ ।” क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उनले यसै अस्पतालमा पेट स्क्यान मेसिन ल्याउनु पर्नेमा जोड दिए ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेर अनुभव संगाल्नुभएका श्रेष्ठले भने, “क्यान्सरका ६० प्रतिशत बिरामी यही उपचारका लागि आउँछ, त्यसैले पेट स्क्यान यही राख्नुपर्छ ।” सो अवसरमा अस्पतालमा कुरुवा घर निर्माणमा आर्थिक सहयोग गर्ने भीम पाठक र अस्पतालका सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !