७ बैशाख २०८१, शुक्रबार

कोरोना र डेंगुबाट बच्न जनस्वास्थ्यमा मापदण्ड पालना गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह


गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड, डेङ्गु लगायतका रोगहरुबाट बच्न जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेश सभाको भूमिका सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगु लगायतका सरुवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले समेत मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले यी सबै रोगहरुको नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिए ।

कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधिहरु गम्भीर रहेको र उनीहरुको भूमिकाका बारेमा आफूहरु निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताए । संघ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम गर्यौं, अब स्थानीय तहसँग पनि जोड्नुपर्ने छ, उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ ।’

प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेश सभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !