७ बैशाख २०८१, शुक्रबार

तीन घण्टा लाममा उभिए, उपचार नपाएर फर्किए


धौलागिरी अस्पताल

बागलुङ । चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेप्नुपर्यो ।

दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनले जनरल सर्जन कहाँ पुगेका थिए । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए ।

भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिनुपर्यो । ठेलमठेल भीडमा घण्टौँ उभिएपछि उनले पालो त पाए तर ‘आज भिडियो एक्सरे हुँदैन’ भन्दै कर्मचारीले झ्यालबाटै फर्काइदिए । भिडियो एक्सरेलाई तोकिएको दैनिक ५० जनाको कोटा सकिएको भन्दै कर्मचारीले बिल काट्न नमानेको नेपालीले बताए ।

“यो कुरा हामीलाई पहिले भनिएन, पछि एक्कासि आज भिडियो एक्सरे हुँदैन भनेर फर्काए”, उनले दुःखेसो पोखे, “बर्सातको बेला महँगो भाडा तिरेर गाउँदेखि आइएको छ, उपचार नगराई कसरी फर्कनु, बजारमा बस्नलाई पैसा छैन ।”

चिकित्सकले सिफारिस लेखेर पठाएपछि भिडियो एक्सरे हुँदैन भनेर बिरामीलाई फर्काउनु अस्पतालको लापरबाही भएको नेपालीको भनाइ छ । उनीसँगै लाममा उभिएकी बागलुङ–१ की लीला कार्की पनि अस्पतालको अव्यवस्था देखेर बेचैन देखिन्थे । टोकन लिँदा, टिकट बनाउँदा, चिकित्सक कुर्दा, बिल बनाउँदा र औषधि लिँदा ठूलो झण्झट बेहोर्नुपरेको उनले उल्लेख गरे ।

“दुई घण्टा भयो टिकट पाइएको छैन, डाक्टर भेटिने कहिले हो, उपचार पाउने कहिले ?”, कार्कीले भने । कार्की स्त्रीरोग विशेषज्ञसँग स्वास्थ्य जाँच गराउन अस्पताल पुगेका थिए । टिकट कक्षका कर्मचारीले पनि सेवालाई छिटोछरितो बनाउन नसकेकामा उनको गुनासो छ ।

बागलुङ–३ का तारा सापकोटा पनि छोरा देवेन्द्रको पेटको उपचारका लागि अस्पताल पुगेका थिए । उनले पनि छोराको भिडियो एक्सरे गर्न नपाएको बताए । “घण्टौँसम्म लाममा बस्न लगाएर पछि भिडियो एक्सरे हुँदैन भनेर फर्काइदिए”, उनले भने , “सेवा दिन सकिँदैन भने सुरुमै जानकारी दिए । जे मन लाग्यो त्यही गर्न पाइँदैन ।”

उपचारका लागि घण्टौँसम्म लाम लागेका अरु बिरामी र उनीहरुका आफन्त पनि अस्पतालको सेवा प्रवाहप्रति असन्तुष्ट देखिन्थे । अस्पताल व्यवस्थापनले बिरामीको समस्यालाई अनदेखा गरिरहेको उनको गुनासो थियो । अस्पतालको रेडियोलोजी विभागका सहयोगी स्वास्थ्यकर्मी अजिता पन्तले दिनमा ५० जना बिरामीको मात्र भिडियो एक्सरे हुने गरेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !