१२ बैशाख २०८१, बुधबार

स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना


गणेशप्रसाद तिमिल्सिना फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धी र पूर्व तयारीको काम गर्नुपर्ने बताए ।

नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याए । ‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धि अध्ययनका लागि रकम बाहिरिरहेको छ,’ उनले भने, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।‘

स्वास्थ्य क्षेत्रको क्षमता अभिबृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुने धारणा उनले राखे । राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरैं छ,’ उनले भने, ‘तर, आँखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो संख्या बृद्धी गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ ।‘

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरु बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरूरी रहेको बताए ।

‘कोभिड लगायतका महामारीले गर्दा स्वास्थ्यमा मात्रै नभइ मानसिक, आर्थिक र सामाजिक लगायतका समस्याहरु पनि बल्झिएको छ,’ राष्ट्रिय सभाका सांसदहरु सहभागी कार्यक्रममा उनले भने, ‘स्वास्थ्यलगायत राष्ट्रिय समस्याबारे गम्भीर छलफल र समाधानका लागि हामीले चासो राख्नुपर्छ।‘

अध्यक्ष तिमिल्सिनाले एकातिर कोभिड विरुद्धको खोप म्याद गुज्रेर जाने अवस्था रहेको छ भने अर्कोतर्फ कतिपय नागरिकले खोप लगाउन नमानेको रिपोर्टहरु आइरहेको बताए । यो अवस्थाको अन्त्य गर्न र शतप्रतिशत नागरिकलाई खोप लगाउनका लागि जनचेतना फैल्याउने दायित्व सरकारसँगै जनप्रतिनिधिको पनि भएको ‌औंल्याए ।

उनले अहिले पनि कोभिडको जोखिम उत्तिकै रहेको बताउँदै उनले स्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गर्दै लक्षण देखिँदा परीक्षण गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभाले देखाएको चासो र जनस्वास्थ्यका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरे । उनले अहिले सर्ने र नसर्ने रोगका कारण समस्या थपिरहेको सन्दर्भमा जनप्रतिनिधिले निर्वाह गर्ने भूमिकाले मन्त्रालयलाई मार्गनिर्देशन गर्ने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी विश्वस्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आपत्कालिन पूर्वतयारी लाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्वपूर्ण रहेको बताए । ‘यहाँहरूले आफ्नो पद र जिम्बेवारीमार्फत आपतकालिन पूर्वतयारी र स्वास्थ्य सुरक्षाको सुदृढीकरणको लागि वकालत तथा नेतृत्व लिनुहुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने । यो कार्यक्रममा राष्ट्रिय सभा र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्न पाउँदा विश्व स्वास्थ्य संगठनको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !