८ बैशाख २०८१, शनिबार

आज विश्व रक्तदाता दिवस मनाइँदै


विश्व रक्तदाता दिवस

नवलपुर । आज जुन १४ विश्व रक्तदाता दिवस । नेपाल लगायत विश्वका मानिसहरूले प्रत्येक बर्ष जुन १४ मा रक्तदाता दिवस मनाउँदै आएका छन् । मानवको लागि रगत अनिवार्य छ रक्तदान जीवन दान भन्ने भनाई यो दिवसले जनाउदै आएको छ ।

मानव रगत एक अर्कालाई चढाउँदा समूह पत्ता लगाउनु पर्ने हुन्छ । यो समूह पत्ता लगाउन वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको ठूलो योगदान रहेको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि संसारभर यो दिवस मनाउन सुरु गरिएको हो ।

रक्तदान जीवनदान भन्ने नारा विश्वभर प्रचलित हुने दिनको रूपमा आजको दिनलाई लिइएको छ । समयमै रगत आपूर्ति हुन नसक्दा विश्वमा अहिले पनि धेरै जनाले ज्यान गुमाउनु परिरहेको छ । रक्तदानलाई मानव सम्भयताकै सबैभन्दा पुन्य कामका रूपमा पनि लिने गरिन्छ । रक्तदानले मानव सम्भयता र स्वयंसेवी भावनालाई एउटा उचाईमा पुर्याएको छ ।

रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रमसहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका र्याली, कोणसभा, प्रभात फेरी लगायतका चेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरिएको हुन्छ । रक्तदान दिवसका अवसरमा मानव जीवनमा रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता एवम् सम्मान व्यक्त गर्ने गरिन्छ ।

आजको दिनलाई मनन् गरि रक्तदान जस्तो ठूलो दान अरू केही छैन भन्ने भावनाको विकास हुनुपर्ने देखिन्छ। रक्तदानको आवश्यकता र औचित्यका बारेमा सबैलाई जागरूक बनाउन पनि यो दिवस महत्वपूर्ण रहेको छ । दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्ने छ । यसरी रगत दिनु अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर परीक्षण गर्ने गरिएको हुन्छ । कसैलाई आवश्यकता परेका बखत जीवन बचाउन कुनै पनि सङ्क्रमण नभएको र शुद्ध रगत दिनुपर्छ ।

रक्तदान दिदा रगत कम हुन्छ भन्ने मानसिकता कतिपयमा हुने गरेको हुन्छ तर यो सत्य होइन । उदारणको लागि दुइवटा भाँडोमा पानी भर्नुहोस् र एउटा भाँडोको पानी चलाउनुस् र अर्को भाडाको पानी नछुनुस् । जुन भाडाको पानी हजुरले चलाउनु भएको छैन त्यो भाँडोको पानी फोहर भएको हुन्छ । भन्नुको तात्पर्य यो होकी जति रक्तदान गरेव त्यति नै नयाँ रगत पैदा हुने गर्दछ। नयाँ रगत सफा हुनाले स्वास्थ्यमा पनि सुधार हुदै जानेछ ।

सामान्य अवस्थामा एक पटक रक्तदान गरेपछि अर्को पटक रक्तदान ३ महिनापछि मात्रै गर्न मिल्छ । कम्तीमा ५० किलोग्राम तौल भएको र १८ वर्षदेखि ६० वर्षसम्मको उमेर समूहकाले रक्तदान गर्नुपर्छ भन्ने मान्यता छ । यद्यपि रक्तदाताका सीमा देश अनुसार फरक पनि हुन सक्छन् ।रगत जीवन हो यदि शरीरमा रगत हुदैंन भने हाम्रो शरीरनै समाप्त हुन्छ ।

समयमा रगत नपाए रगतको कमिहुने व्यक्तिको ज्यानै जान सक्छ । रक्तदानले उसको जीवन बच्छ भने किन रक्तान दान नगर्ने यो कुरा हरेक रक्तदाताले बुझ्न आवश्यक छ । रक्तदाताहरूलाई वास्तवमा जीवनदाता मान्नुपर्छ । पछिल्लो समय नेपाललाई रगतको अभावबाट मुक्त बनाउन विभिन्न अभियानहरु पनि सञ्चालन गर्ने गरिएको छ । तर प्राय: रगतको अभाव भने खड्किरहेको हुन्छ । यस्ता अभियान अझै बढाउनुपर्ने देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !