६ बैशाख २०८१, बिहिबार

राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि…


उमेश श्रेष्ठ

भक्तपुर । सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ हँुदै गरेको आकस्मिक कक्ष, नयाँ बन्दै गरेको भवन, कोभिड ब्लक, नयाँ आइसियुदेखि अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।

अस्पतालले कोभिड महामारीमा गरेको काम, विस्तार गरेको सेवा, ल्याब, एक्स–रेको अवस्था, कार्य मूल्याङ्कनमा ३८ प्रतिशतमा रहेको अस्पताललाई अहिले ८३ प्रतिशतमा पु¥याएर वाग्मती प्रदेशकै उत्कृष्ट अस्पतालको पुरस्कार पाउन सफल रहेको मन्त्री श्रेष्ठलाई उहाँले जानकारी गराउनुभयो ।

मेसु डा गौतमले कोभिडको तेस्रो लहरको तयारीस्वरुप अस्पतालले तयार पारेको ठूला बिरामीका लागि १६, भर्खर जन्मेका बच्चाका लागि १० र १८ वर्षमुनिका बिरामीका लागि १० गरी कूल ३६ शय्याको आइसियु, दैनिक एक हजार ५०० किलोलिटर लिक्विड अक्सिजन उत्पादन गर्नसक्ने अक्सिजन प्लान्ट, अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट देखाउँदै भक्तपुरका अस्पतालाई पुग्ने अक्सिजन उत्पादनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

राज्यमन्त्री श्रेष्ठसमक्ष अस्पतालले थोरै रकममा पनि धेरै उपलब्धि हासिल गर्दैै कवाडी थुपारिएको ठाउँमा बिरामी राख्ने शय्यादेखि प्रशासनीक भवन र सभा हल बनाएको जानकारी गराउँदै जनशक्ति अभावले समस्या आएको गुनासो सुनाउनुभयो ।

भक्तपुर अस्पतालको अवस्था प्रत्यक्ष नियाल्नुभएका राज्यमन्त्री श्रेष्ठले ११८ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले २०० शय्या सञ्चालनको लक्ष्य लिइरहँदा ठाउँ अभावले समस्या पारेको बताउनुभयो । भक्तपुर अस्पतालको क्षेत्रमा भक्तपुर क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्रसमेत सञ्चालन गर्नु पर्दा ठाउँको अभाव झेल्नु परेको भन्दै उहाँले अस्पतालको सेवा विस्तारका क्रममा आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था सरकारको दायित्वमा रहने बताउनुभयो ।

यहाँको सहरको यो मुख्य अस्पताल भएकाले गुणस्तरीय सेवाबाट माथि जानुपर्नेमा जोड दिँदै अस्पतालको स्तरोन्नति गर्नुपर्ने र अस्तव्यस्त भने देखिन नहुने औँल्याउनुभयो । कुनै पनि बिरामीको पहिलो गन्तव्य सरकारी अस्पताल हुनुपर्छ भन्दै उहाँले उपचारका लागि आएका बिरामीको त्यहाँ उपचार हुन नसके जिल्ला अस्पताल, प्रदेश अस्पताल, सङ्घका अस्पताल, त्यसपछि मेडिकल कलेज हुँदै त्यहाँ पनि उपचार हुन नसके अन्तिममा मात्रै निजी अस्पतालमा रिफर गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड थियो ।

राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “इमरजेन्सी अस्पतालको गहना हो, त्यसको सेवालाई २० प्रतिशत बढाउँदै जानुपर्छ, इमरजेन्सी यस्तो होस् कि बिरामी आएपछि अब म बाँच्छु भन्ने परोस्, बिरामीको भीड भएकाले अस्पतालको सेवालाई रातो, हरियो, पहेँलो, नीलो गरेर चारवटा क्लष्टरमा विभाजन गरेर सेवा दिनुपर्छ ।” अस्पताल आफँै आत्मनिर्भर हुने र गुणस्तरीय सेवा दिनेमा अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले बीमा सेवालाई विस्तार गर्ने र पेइङ क्लिनिक सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकारले अब सरकारी अस्पतालमा एक अस्पताल, एक चिकित्सकको अवधारणा अगाडि सारेको छ, सरकारी अस्पतालमा काम गर्ने चिकित्सक पैसाका लागि निजी क्लिनिकमा जानु नपर्ने गरी सेवा सञ्चालन गर्नु आवश्यक छ,” राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य बीमा गरेका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिने अनि पैसा तिर्न सक्ने बिरामीहरुका लागि ३ बजेपछि शुल्क लिएर सुविधासम्पन्न सेवा दिनुस्, चिकित्सकलाई त्यहीँबाट थप रकम दिनुस्, पैसाका लागि चिकित्सकलाई क्लिनिक धाउनै पर्दैन, बिरामीलाई निजी अस्पताल जानै पर्दैन, यो अवधारणामा अब जानुपर्छ ।”

भक्तपुर अस्पतालको संरचना निर्माणदेखि सेवा विस्तारसम्मका लागि गुरुयोजना बनाएर ल्याउन निर्देशन दिँदै मन्त्री श्रेष्ठले सोच र योजना ठूलो राखेर अगाडि बढ्दै सबै कर्मचारीले यो मेरो हो भन्ने भावनाले काम गरेमा बजेटको अभाव हुन नदिने बताउनुभयो । बीमाले गरिब जनताले निःशुल्क उपचार पाएका छन् भन्दै उहाँले प्राविधिक कारणले रोकिएका बीमाको पैसा दसैँअगाडि नै पठाउने र अब बीमाको पैसा नरोकिने गरी व्यवस्था गरिने बताउनुभयो ।

सरुवाको सन्दर्भ कोट्याउँदै अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई उहाँले भन्नुभयो, “राम्रा काम गर्ने अस्पतालका प्रमुखको सरुवा हुँदैनन्, नराम्रो काम गर्ने र अस्पतालमा राजनीति धेरै गर्नेको मात्रै सरुवा हुन्छ, तपाईंको सरुवा हँुदैन ढुक्क भएर काम गर्नुस् ।” अस्पताल विकास समिति र प्रतिष्ठान लथालिङ्ग रहेको भन्दै उहाँले सरकारी अस्पतालमा विकास समितिको ऐन बनाउन जरुरी रहेको औँल्याउनुभयो । अहिले ७५३ स्थानीय तहमा अस्पताल खोल्ने तर दरबन्दी अभावले समस्या पार्ने आँैल्याउँदै उहाँले तत्कालै २० हजार दरबन्दी आवश्यक रहेको बताउनुभयो ।

क्यान्सर अस्पताललाई अत्यावश्यक तीन मेसिन दिने प्रतिबद्धता

भक्तपुर क्यान्सर अस्पतालको निरीक्षणमा पुग्दा त्यहाँको अस्तव्यस्तताले पनि उहाँको मन कटक्क खायो । बिरामीसँगको कुराकानी, ठाउँ अभावमा पनि दिएको सेवा, अत्यावश्यक मेसिनहरुको अभाव देखेर सरकारले अस्पताललाई सहयोग गर्ने बताउनुभयो । देशका तीनवटा सरकारी क्यान्सर अस्पतालमा सरकारले पूरा दायित्व लिएर गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउनुपर्छ भन्दै उहाँले सरकारी अस्पतालप्रति रहेको जनताको विश्वासलाई गुम्न दिन नहुने आँैल्याउनुभयो । स्वास्थ्य सरकारको मूल दायित्व भएकाले अब कोरोनाको खोप अभियान सम्पन्न भएपछि सरकारले पब्लिक हेल्थलाई राम्रो बनाउने अभियानमा लागेको उहाँको भनाइ छ ।

सरकारी अस्पतालमा भएको उपकरण बिग्रने, मर्मत नहुने र निजीमा बिरामी जानुपर्ने प्रचलनको अन्त्य गर्न मन्त्रालयको मातहत रहने गरी कम्तीमा २५ जनाको प्राविधिक इन्जिनियरसहितको टोली बनाएर जुन सरकारी अस्पतालमा मेसिन तथा उपकरण बिग्रन्छ, त्यहीँ गएर बनाउने व्यवस्था गर्ने योजना अगाडि सारेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा अब उज्यालो यात्राको सुरु गर्नुपर्छ भन्दै मन्त्री श्रेष्ठले क्यान्सरको उपचारमा राष्ट्रियस्तरमै यस अस्पतालको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । अत्यावश्यक मेसिन उपकरण नहुँदा क्यान्सरका बिरामी आज पनि विदेश जाँदा करोडाँै रकम विदेसिने गरेकामा चिन्ता व्यक्त गर्दै यसलाई रोक्नुमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “पब्लिक स्वास्थ्य संस्थाबाटै गुणस्तरीय सेवा दिने मिसन सफल पार्नुपर्छ, क्यान्सरको महँगो उपचारलाई सुलभ बनाउन र अस्पताललाई आत्मनिर्भर बनाउन सरकारले पिट स्क्यान, सिटी स्क्यान र अत्याधुनिक मेसिन ल्याउने व्यवस्था गरिदिन्छ ।”

अस्पतालले देशभरका बिरामीका लागि दिँदै आएको सेवा, समस्या र आवश्यक उपकरणको अभावका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै अस्पतालका निर्देशक डा विष्णु पौडेलले अस्पतालका कर्मचारीलाई तलब खुवाउन अस्पतालको आम्दानीले नै पुग्ने भएकाले उपकरणको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

प्रत्यारोपण केन्द्रका लागि सल्लाघारीको ९९ रोपनी माग

यता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रवेश गरेसँगै यहाँको पनि निकै साँघुरो अवस्थाले राज्यमन्त्री श्रेष्ठलाई फेरि झस्कायो । नेपालको एक मात्रै प्रत्यारोपण केन्द्रले राम्रो सेवा दिँदै नमूनाका रुपमा अगाडि बढेको उहाँले चर्चा गर्नुभयो । क्यान्सर र मिर्गौलाको बिरामीको चाप बढेको देख्दा अबको केही वर्षमै विकराल अवस्था हुन सक्नेमा चिन्ता व्यक्त गर्दै उहाँले मन्त्रालयमा सबभन्दा धेरै डायलोसिस र मिर्गौला प्रत्यारोपणको समस्याको गुनासो आउने गरेको बताउनुभयो ।

सीमित स्रोत र साधनबाट सेवा दिइरहनुपरेको, बिरामीले एउटा डायलोसिस गर्न महिनौँ कुर्नुपर्ने अवस्थाको अब अन्त्य गर्नुपर्छ भन्दै मिर्गौैला प्रत्यारोपणमा देखिएको भयावह अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो । सरकारले मिर्गौला, क्यान्सर, मुटु, स्पाइन इन्ज्वेरी जस्ता सेवालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । यस केन्द्रले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा मिर्गौलाका बिरामीका लागि डायलोसिस सेवा सञ्चालन गर्न निर्देशन दिँदै डायलोसिसकै लागि बिरामीलाई यहाँसम्म आउनुपर्ने व्यस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले अब चार हजार डायलासिस मेसिन विभिन्न अस्पताललाई दिने योजना अगाडि सारेको छ, यस केन्द्रले पनि उपत्यकाका विभिन्न ठाउँमा डायलासिस सेन्टर चलाउनुस् ।”

अस्पतालहरुले योजना नै नबनाई बजेट माग गर्दा धेरै बजेट फ्रिज हुने गरेको भन्दै उहाँले योजना बनाएर आए बजेट दिन सक्ने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता रहेको औँल्याउँदै उहाँले स्वास्थ्य बीमाबाटै मुटु, कलेजो, मिर्गौला परीक्षणको व्यवस्था गर्दा मात्रै गरिब जनतालाई यी रोगबाट बचाउन सकिने उहाँको भनाइ थियो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालको अवस्था, प्रगतिका बारेमा जानकारी गराउँदै नेपालमा दुर्घटनाका कारण मस्तिष्कघातबाट मृत्यु हुने बिरामीको अङ्ग दान गर्ने नीतिलाई कार्यान्वयनमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । उहाँले मन्त्रालयकै नेतृत्वमा मस्तिष्कघातबाट मत्यु हुनेका अङ्गहरु दानको समिति सञ्चालन गर्न, मृतकको परिवारलाई थोरै भए पनि राहत रकम दिने व्यवस्था गरिदिन र जनचेतना जोगाउने काम गर्न आग्रह गर्नुभयो ।

भवन अभावले धेरै समस्या झेल्नु परेको भन्दै उहाँले केन्द्रको नयाँ भवन बनाउनका लागि चाँगुनारायण नगरपालिकाको झौखेलमा प्राप्त ३५ रोपनी जग्गाले नपुग्ने भन्दै भक्तपुर नगरपालिका सल्लाघारीमा रहेको नेपाल ट्रष्टको १०२ रोपनी जग्गा यस अस्पतालका लागि उपलब्ध गराइदिन आग्रह गर्नुभयो । अस्पतालका डा श्रेष्ठले भन्नुभयो, “६ वर्ष अगाडिकै सरकारले केन्द्रलाई सल्लाघारी चौरमा रहेको १०२ रोपनी जग्गा दिने सम्झौता गरेको थियो, त्यो कागज हामीसँग सुरक्षित छ, सल्लाघारीको त्यो जग्गा कुरा गरेर सम्झौताअनुसार जग्गा मिलाइदिनु प¥यो, हामी त्यहीँ भवन बनाउँछौँ ।”

डा श्रेष्ठको प्रस्तावका बारेमा प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले प्रत्यारोपण केन्द्रलाई अनकन्टार ठाउँमा लगेर राख्न नहुने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “ट्रान्सप्लान्ट सेन्टर अनकन्टार ठाउँमा लगेर हुँदैन, बिरामीलाई गाह्रो हुन्छ, हाइवे नजिक हुनुपर्छ, त्यसैले सल्लाघारीको १०२ रोपनी जग्गाको व्यवस्था गरिदिन सक्छौँ, नेपाल ट्रष्ट पनि राज्यकै हो, ट्रष्टसँग ९९ वर्षका लागि लिजमा लिन सकिन्छ, हामी पहल गर्छौं, तपाईं योजना बनाउनुस् ।” अस्पतालको निरीक्षणका क्रममा उहाँले तीनवटै अस्पतालमा ठाउँको उपयुक्त व्यवस्थान हुन नसकेको, जनशक्ति र उपकरणको अभाव रहेको, भौतिक संरचनाको विस्तार आवश्यक रहेको पाइएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !