७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य सचिवमा तीन भाईको भिडन्त, आजै बस्ने मन्त्रिपरिषद्को बैठकले छिनोफानो गर्न सक्ने


डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा तीन जनाको भिडन्त शुरु भएको छ । स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

आज विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले १२ औं तहमा बढुवा हुँदाको क्रमलाई हेरेर स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रहेका डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।

तीन वर्षपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाबाटै सचिव पाउने भएको हो । करिब साढे तीन वर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहको सचिव पद हटाइँदा त्यहाँको काम बाहिरका सचिवले नै गर्दै आएका थिए ।

सिफारिस गरिएकामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ भने अन्य दुई जनाको कार्यकाल भने तीन वर्षभन्दा बढी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गर्न सक्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !