१२ बैशाख २०८१, बुधबार

दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय


बिएण्डसी मेडिकल कलेज

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले झापाको बिर्तामोडस्थित दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियम अनुरुप प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमता अनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेर बाहिरिएका थिए ।

उनी बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएको स्रोतले बतायो । निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको जानकारी दिए ।

सम्बन्धन दिन लागिएको भन्दै यसको विरोध बृहद् नागरिक आन्दोलनका अभियन्ताहरुले आजै प्रदर्शन गरेका थिए । स्वास्थ्य सेवा र शिक्षाका अभियन्ता डा. गोविन्द केसीले सम्बन्धन दिइने सत्याग्रह गर्ने घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !